१४ असार, काठमाडौं । प्रस्तावित नागरिकता कानुनले आमाको नामबाट पनि नागरिकता दिने व्यवस्था गरेको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा आइतबार पास गरेर प्रतिनिधि सभामा पेश गरेको प्रस्तावित कानुनमा आमाको नामबाट नागरिकता पाउने भनेर दुईवटा बुँदा उल्लेख छन्।
पहिलो बुँदामा भनिएको छ, ’नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको व्यक्तिले वंशजका आधारमा नागरिकता प्राप्त गर्नेछ।’
यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिने व्यक्ति नेपालमै जन्म भएर यहीँ बसोबास गरेको हुनुपर्ने प्रस्ट छ।
दोस्रो बुँदामा भनिएको छ, ’नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई, नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा बाबु पहिचान हुन नसकेको बेहोराको आमाले गरेको स्वघोषणा।’
यो व्यवस्थाअनुसार आमाले सन्तानलाई नागरिकता दिलाउन जाँदा बाबुको पहिचान माग गर्छ। बाबु सँगै छन् वा नभए पनि आफैं नागरिकता सहित उपस्थित भइदिए आमाकै नामबाट सजिलै नागरिकता पाइन्छ। बाबु यसरी उपस्थित भइदिएनन् भने आमाले आफ्नो सन्तानको बाबु फलानो हो भनेर सिडिओलाई देखाउनुपर्छ। यो व्यवस्था पनि कानुनमै छ।
यसरी पहिचान खुलाएपछि सिडिओले ती बाबु र उनको परिवारलाई सनाखत निम्ति बोलाउँछ। बोलाउँदा नआए सिडिओले जाँचबुझ गर्न थाल्छ। जाँचबुझ गर्दा परिवारको सदस्य भएको प्रमाणित भएपछि मात्र नागरिकता दिइन्छ।
तर, आमालाई सन्तानको बाबु को हो भन्ने नै थाहा छैन भने सिडिओसामु गएर बाबु पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्छ। यसरी स्वघोषणा गर्दा एउटा बेहोरा लेख्नुपर्छ, जसमा के–के कुरा खुलाउनुपर्छ भन्ने स्पष्ट लेखिएको छैन।
नागरिकता दिलाउँदा बाबुको पहिचान छैन भनेर आमाले गरेको स्वघोषणा गलत ठहरियो भने ६ महिनादेखि १ वर्ष ६ महिनासम्म कैद सजाय पाउने समितिले तयार गरेको प्रस्तावमा छ। जरिवाना पनि २५ हजारदेखि १ लाखसम्म तिर्नुपर्ने भनिएको छ। उक्त स्वघोषणा आफूलाई प्राप्त जानकारीको आधारमा असल नियतले नै गरेको भए आमाले सजाय पाउँदिनन्।
पछि बाबुको पहिचान खुल्न आएमा र पहिचान खुल्न नसक्नुमा उसकै बदनियत देखियो भने त्यस्तो बाबुलाई पनि ६ महिनादेखि १ वर्ष ६ महिनासम्म कैद सजाय र २५ हजारदेखि १ लाखसम्म जरिवाना तिराउने प्रस्तावित कानुनमा उल्लेख छ।
अंगीकृत नागरिकता
प्रस्तावित कानुन अनुसार, पुरूषले विदेशी महिला बिहे गरेर ल्याए ७ वर्षपछि आफ्नो नामबाट अंगीकृत नागरिकता दिलाउन पाउँछ।
विदेशी पुरूष र नेपाली महिलाबाट जन्मिएको सन्तान नेपालमै जन्मेको हुनुपर्ने कानुनी व्यवस्था भने समितिले सच्याएको छ। नेपालमै नजन्मे पनि बाबुको देशको नागरिकता लिएको छैन भनेर घोषणा गरे नेपाली महिला नागरिकको सन्तानले अंगीकृत नागरिकता पाउँछन्।







