माघ, ११ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटबारे सुनुवाई सुरु हुनु अघि संवैधानिक इजलासमा वकिलहरुबीच केहीबेर भनाभन भएको छ ।
प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना राजपत्रमा छापिएको सन्दर्भमा त्यसको आधिकारिकता जाँच हुनुपर्ने विषय उठेपछि संवैधानिक इजलासमा केहीबेर पक्ष र विपक्षका वकीलहरुबीच भनाभन भएको हो ।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभन भएको हो ।
इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो ।
शुक्रवार महान्यायधिवक्ता अग्नी खरेलले राजपत्रमा प्रकाशित सूचना पेश गरेका थिए । तर मिति पुस ५ गते नै राखिएपनि माघ ९ गते अर्थात शुक्रवार मात्रै प्रकाशित गरिएको भन्दै आलोचना भएको थियो ।
यसैबीच आजको बहसका क्रममा अधिवक्ताले कुरा उठाउँदा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले रोकेका छन् ।
आज सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले त्यसबारे प्रश्न उठाएका थिए । यसैक्रममा प्रधानन्यायधीश जबराले अधिवक्ता श्रेष्ठको निवेदन राखेको बताउँदै उक्त विषयमा प्रवेश नगर्न भन्दै रोकेका थिए ।







