प्रधानमन्त्री ओलीबाट पार्टी र संसदीय मान्यताको अवज्ञा

१८ असार, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले हठात् रुपमा संसद अधिवेशन अन्त्य गरिदिएका छन् । विहीबार बिहान ११ बजे प्रधानमन्त्री निवासमै बस्ने तय भएको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी नभैइ प्रधानमन्त्रीले १२ बजे मन्त्रिपरिषद बैठक राखेर संसद अधिवेशन अन्त्य गर्ने सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको सूचनापछि पार्टी अध्यक्ष प्रचण्डले चासो राख्दै पार्टीको बैठक चलिरहेको बेला अधिवेशनज अन्त्य नगर्न सुझाब दिएका थिए । पार्टीमा सल्लाह गरेर मात्र निर्णय गर्न प्रचण्डले आग्रह गरेपछि क्याबिनेट बैठक स्थगित गर्ने बताएका ओलीले हतारहतार बैठक राखेर अधिवेशन अन्त्यको निर्णय गरेका हुन् ।

द्रुत गतिमा सकिएको मन्त्री परिषद बैठकले संसद अधिवेशन आजै ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरिन् ।

पार्टीलाई वेवास्ता गर्दै स्वेच्छाचारी बनेको भन्दै आलोचना भइरहेको बेला पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रस्ताव ओलीले फेरि उल्लंघन गरे । बुधबार बेलुका ललितपुरको झम्सीखेलमा सम्पन्न ३० नेताहरुको भेलाले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने प्रतिवद्धता जनाउनुपर्ने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्री ओलीले फेरि पार्टी बैठकमा सहभागी नभई पार्टी नेताहरुको आग्रहलाई लत्याए । मन्त्रिपरिषदको बैठक बस्नुपूर्व प्रधानमन्त्री ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपतिसँग कुरा गरेपछि क्याबिनेट बैठक राखेर संसद बैठक स्थगनको सिफारिस शीतलनिवास पठाइएको थियो । राष्ट्रपतिबाट त्यसलाई हतार–हतार सदर गरिएको थियो ।

संसद स्थगितको निर्णयपछि स्थायी समिति बैठकमा सहभागी हुन आग्रह गर्दा पनि प्रधानमन्त्री ओलीले नमानेको नेताहरुले बताएका छन् । त्यसपछि शुक्रबार प्रचण्ड र अरु नेताहरुको टीमले प्रधानमन्त्रीसँग थप छलफल गर्ने र शनिबार बिहान ११ बजे पुनः बस्ने गरी स्थायी कमिटीको बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीलाई अटेर गर्दै संसदीय मूल्यलाई पनि लत्याएको भन्दै आलोचना हुन थालेको छ । संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखसँग परामर्श गरेर निर्णय लिने संसदीय परम्परा प्रधानमन्त्री ओलीले मिचेका छन् ।