विपुल अधिकारी/ माघ, १५ काठमाडौं । अहिले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ३ वटा कित्तामा उभिएको प्रष्ट देखिएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद विघटन गरिसकेकी छिन् । साथै चुनावको मिति बैशाख १७ र २७ मा गराउने भनेर घोषणा समेत गरिसकेकी छिन् ।
राष्ट्रपति भण्डारीले संसद विघटन गरे पश्चात नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नै ढंगबाट अघि बढेका छन् । त्यस्तै उपाध्यक्ष बामदेव गौतमले पनि आफ्नो एउटा संरचना तयार पारेका छन् ।
ओलीले आफ्नो अध्यक्षमा नयाँ संरचना बनाएका छन् । त्यस्तै प्रचण्डले पनि आफु र माधवकुमार नेपाललाई अध्यक्ष बनाएर आफ्नै संरचाना खडा गरेका छन् । उत्ता बामदेव गौतमले पनि पार्टी एकता गर्न भन्दै आफ्नो संयोजनामा एउटा नयाँ संरचना तयार पारेका छन् ।
संसद विघटन भइसकेपछि प्रधानमन्त्री ओली सत्तामा छन् । प्रचण्ड–माधव नेपालको समूह विघटनविरुद्ध सडकमा छन् । हुन त प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि विघटनविरुद्ध आन्दोलनमा छ । अन्य दल पनि संसद विघटनको विरुद्धमा छन् ।
संसद विघटनविरुद्धको मुद्दा संवैधानीक अदालतमा बहस जारी छ । निर्वाचन आयोगले पनि पार्टीको नाम र चुनाव चिन्हका विषयमा दुवै ओली र प्रचण्ड–माधव पक्षलाई पार्टीको मान्यता समेत दिएको छैन् । नेकपाको विवरण परिवर्तन हुन नसक्ने भन्दै अध्यक्षद्वय ओली र दाहाललाई निर्वाचन आयोगले पत्र समेत थमाएको छ । आयोगले नेकपाको अध्यक्ष ओली र प्रचण्डनै भएको समेत बताएको छ ।
दुवै समूह राजनीतिक रुपमा छुट्टिए पनि कानूनी रुपमा विभाजित भइसकेका छैनन् । उनीहरु एक–अर्काको अस्तित्वलाई समेत स्वीकार नगर्ने स्थितिमा पुगेका दुई पक्षका नेताहरुको अबको रणनीति के होला ? एक आपसमा कसरी सामना गर्लान् ? भन्ने प्रश्न खडा भएको छ ।
आयोगको निर्णयपछि दुई अध्यक्ष नमिली सुख नपाउने अवस्था सिर्जना भएको छ । यो अवस्थामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेट कहिले र कसरी होला ? हेर्न बाँकी छ ।
नेकपा विभाजनलाई बामदेवले जोगाउलान ?
निर्वाचन आयोगले नेकपाको विवरण परिवर्तन नहुने सन्देश नेकपामा पुगेपछि पनि आ–आफ्नो दाबी बाट दुवै समूह पछि हटेका छैनन् ।
यता, बुधबार नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकता अभियान घोषणा गरेका छन् ।
गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गरेका गरेका हुन् । बुधवार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनको निम्ति नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन् । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षमा राजनीतिक रुपमा विभाजित भएपनि गौतम तटस्थ रहदै आएका थिए । आफु एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिदैँ आएका गौतमले बुधवारदेखि औपचारिक रुपमै एकता अभियान घोषणा गरेका हुन् ।
उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शीर्ष नेताहरु विभाजित भएपनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै उनले आफुले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरुलाई अघि बढाउने बताए ।
६ महिना भित्र पार्टी एकता गराउने दाबी
गौतमले ६ महिनाभित्र पार्टी एकता गराईसक्ने उपाध्यक्ष गौतमले गरेका छन् ।
उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल र ओली पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरेपनि आफुहरुले उक्त फैसलालाई शिरोधार्य गर्ने उनको भनाइ छ । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै संसद पुर्नस्थापना भयो भने पार्टी एकीकरण गराउन समय समेत प्राप्त हुने उनले बताए । प्रतिनिधि सभा पुर्नस्थापना भए पार्टी एकता जोगाउन सकिने भएकोले आफ्नो भित्रि धारणा प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको बताए ।
उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्धय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताए । पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमती अनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताए ।







