१९ असार, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज, भैरहवा र सिमरा औद्योगिक क्षेत्रको वर्तमान स्थितिबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँग औद्योेगिक क्षेत्रहरुको अवस्थाबारे छलफल गर्दै उद्योग तथा वाणिज्य समितिले यस्तो निर्देशन दिएको हो ।
सप्तरीको बसबिटीमा गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र रहेको छ । उक्त औद्योगिक क्षेत्र लामो समयदेखि लथालिंग अवस्थामा रहेको भन्दै समिति सदस्यहरुले प्रश्न उठाएका थिए ।
जवाफमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सिटौलाले ५ करोड रुपैयाँबाट त्यस क्षेत्रमा काम भएको र कम्पाउण्ड पर्खाल मर्मतका काम अगाडि बढाउने सोच रहेको बताए ।
स्पष्ट जवाफ नआएको भन्दै उद्योग समिति सभापति विमलप्रसाद श्रीवास्तवले १० दिनभित्र उक्त औद्योगिक क्षेत्रको वर्तमान अवस्थाबारे समितिलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।
‘५ करोडको कार्यक्रम सञ्चालन भइरहेको भन्नुभयो । तर, कहाँ र के मा खर्च भएको हो सोको स्पष्ट जानकारी आएन । समग्र औद्योगिक क्षेत्रको बारेमा समेत स्पष्ट नभएका कारण यहाँ (औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड) बाट टोली पठाएर स्थलगत अध्ययन गरेर अहिलेको वर्तमान अवस्थाबारे १० दिनभित्र समितिलाई जानकारी गराउन समिति निर्देश गर्दछ’ बैठकको निर्णय सुनाउँदै समिति सभापति श्रीवास्तवले भने ।
उनका अनुसार राजविराज औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् ।
यसैगरी, उद्योग समितिले भैरहवा र सिमरा औद्योगिक क्षेत्रको स्थितिबारे समेत १० दिनभत्र जानकारी गराउन निर्देश गरेको छ ।






