पदका लागि ओलीले लोकतन्त्र र संविधानको हत्या गरे : नारायणकाजी श्रेष्ठ

माघ, १६ गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले पदको लागि पार्टी एकता गरेको र अहिले पद जाने भएपछि पद जोगाउन पार्टी भंग गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभा विघटनको विरोधमा गोरखाको सिरानचोक गाउँपालिका चित्रेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पदका लागि संसद विघटन गरेर ओलीले लोकतन्त्र र संविधानको हत्या गरेको उनको आरोपसमेत लगाए छन् । उनले भने, ‘संविधानको हत्या गरेर ओलीले संसद विघटन गरे तर अहिले अदालतमा उनको पक्षमा मुद्धा लड्ने वकिल कोही नपाएपछि राजतन्त्र चाहिन्छ गणतन्त्र मास्नुपर्छ भन्ने एक–दुई जना मान्छेलाई पैसा दिएर बहस गर्न लगाएका छन् ।’

‘संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छौ भनेर हामीले पार्टी एकता गरेका थियौ,’ उनले भने, ‘तर ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन्, पद जान्छ जस्तो लागेपछि पार्टीमाथि नै आक्रमण गरेर एकता भंग गरे ।’

श्रेष्ठले ओली नेतृत्वको सरकारलाई दुई महिने सरकारको संज्ञासमेत दिएका छन् । उनले ओली नेतृत्वको सरकारको तुजुक धेरै समय नटिक्नेसमेत दाबी गरे ।

कानूनत प्रचण्ड–माधव समूह नै वैधानिक नेकपा रहेको श्रेष्ठले जिकिर गरे ।