माघ, १७ काठमाडौं । नेपाली कांग्रेसले आज सिन्धुपाल्चोकको मेलम्चीमा विरोध सभा गर्दै छ । संसद विघटनकाविरुद्ध आज पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगनकुमार थापाले सिन्धुपाल्चोकको मेलम्चीमा हुने विरोध सभालाई सम्बोधन गर्दै छन् ।
सभालाई सम्बोधन गर्न दुवै नेताहरू मेलम्ची बजार पुगेका छन् । कार्यक्रमको आयोजना पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर –२ सिन्धुपाल्चोकले गरेको हो ।
प्रतिनिधि सभा विघटनलाई लिएर कांग्रेस आन्दोलित छ। यसअघि पहिलो र दोस्रो चरणको आन्दोलन गरेको कांग्रेसले पर्सी (माघ १९ गते) भ्रातृ संस्थाहरूमार्फत ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्दै छ ।
२४ गते भने पार्टीकै शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा र फागुन ८ गते जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र विरोध सभा गर्ने भएको छ।







