विदेशमा थप ३ जना कोरोना संक्रमित नेपालीको मृत्यु

माघ,१८ काठमाडौं ।विदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ३ जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासीय नेपाली संघका अनुसार यो साता युके (संयुक्त अधिराज्य)मा थप ३ जनाको संक्रमणका कारण मृत्यु भएको हो। योसहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ।  
 
संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।

स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।