माघ,२१ काठमाडौ।म्यानमारको सेनाले निर्वाचित सरकारलाई सत्ताको वागडोल सम्हाल्न नदिई सोमबार एक वर्षको सङ्कटकालको घोषणा गरिएको छ । यहाँका निर्वाचित नेताहरू आङ सान सुकी, राष्ट्रपतिलगायतका दर्जनौं वरिष्ठ राजनीतिज्ञहरूलाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सेनाको यो कदम केका लागि रु के निर्वाचित सरकारले सत्ता सञ्चालनमा नागरिक सन्तुष्ट थिएनन् कि यो सैनिक शासकहरूको महत्वाकांक्षाका कारण निम्तिएको परिणाम हो रु विश्व समुदायले यसलाई गम्भीरताका साथ अध्ययन गरिरहेको छ ।
पूर्व कार्यक्रमअनुसार नवनिर्वाचित संसदको नयाँ अधिवेशन फेब्रुअरी १ देखि सञ्चालनमा आउनुपर्ने थियो । नोभेम्बरमा सम्पन्न संसदीय निर्वाचनमा सुकीको पार्टीले दुई तिहाई सीटमा विजय हाँसिल गरेको भएपनि सेनाको दवदवा रहेको म्यानमारमा सेनाको समर्थन रहेका पार्टीको खराब नतिजा आएपछि निर्वाचनमा व्यापक धाँधली भएको प्रचार गरिएको छ । सेनाको समर्थन रहेका दलहरूले मतदाता नामावलीमा व्यापक अनियमितता भएको दावी गरेका छन् यद्यपि निर्वाचन आयोगले ती दाबीहरूलाई समर्थन गर्ने कुनै प्रमाण नभएको भन्दै निर्वाचन परिणामलाई सदर गरिसकेको छ । आयोगको यो निर्णयप्रति पनि सैनिक नेतृत्व खुशी थिएन । सेना निकट रहेको म्यावाडी टेलिभिजनले सेनाको पछिल्लो कदम सरकारले नागरिकको विश्वास जित्नुको सट्टा निर्वाचनमा अनियमिततालाई प्रोत्साहनका कारण चालिएको बताएको छ ।
घोषणा संवैधानिक अधिकारको प्रयोग गरी भएकोले सेनाले लिएको कदम कानूनी रूपमा सही रहेको प्रचार उक्त सैनिक निकट टेलिभिजनले गरेको छ । यद्यपि सू्कीको पार्टीका प्रवक्ता र अन्य धेरैले भने यसलाई सेनाले गरेको सफल कू नै बताएका छन् ।
म्यानमारका कतिपय राजनीतिक विशेषज्ञहरूले कदम सेनाले यथास्थितिलाई नै खलबल्याउने उद्देश्यबाट प्रेरित भएको बताएका छन् । उनीहरूले सेनाको पछिल्लो घोषणाले केही समयदेखि म्यानमारमा प्रजातन्त्रिक व्यवस्थामा मिलेको सफलतालाई बहालवाला तथा अवकाशप्राप्त उच्च पदस्थ सैनिक अधिकारीले प्रजातन्त्रलाई हृदयङ्गम नगरेको एक तीतो यथार्थका रूपमा व्याख्या गरेका छन् ।
कतिपयले यस निर्णयलाई सन् २०११ देखि सशस्त्र बलका कमान्डर रहेका र सोमबार सैनिक सरकारको नेतृत्व सम्हालेका वरिष्ठ जनरल मीन आंग ह्लेइङको अवकाशपछि पनि सक्रिय रहने महत्वाकांक्षाका कारण आएको कदम बताएका छन् ।
“म्यानमार वरिपरि आन्तरिक सैन्य राजनीति छ, जुन धेरै अपारदर्शी छ र म्यानमारको सेनाले पनि यसलाई कायम गर्न चाहन्छ ।” म्यानमारको नागरिक र सैनिक सम्बन्धका एक अनुसन्धानकर्ता किम जोलिफले भने । “यसले ती गतिशीलता प्रतिबिम्बित गरिरहेको हुन सक्छ र यो आन्तरिक ‘कू’ हो जसले ह्लेइङको अवकाशपछि पनि सेनामा शक्ति कायम गरिराख्न बल दिनेछ ।”







