२४ असार, काठमाडौं । कान्तिपुर टेलिभिजनको ‘ह्वाट् द फ्लप’ शो कार्यक्रम बन्द गराउन प्रेस काउन्सिल र मधेसी आयोगमा उजुरी परेको छ । कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्र, प्रड्युसर विशाल घोषलाई समेत कानुनी कारवाहीको माग गरिएको छ ।
पशु चिकित्सक डा.शरद सिंह यादवले आज प्रेस काउन्सिल र मधेसी आयोगमा छुट्टाछुट्टै निवेदन बुझाइ कारवाहीको माग गरेका हुन् । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट् द फ्लप शो कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्रीले विगत लामो समयदेखि मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको उजुरीमा उल्लेख छ ।
सो प्रस्तुती युट्युवबाट समाजिक सञ्जालमा भाइरल भइरहेकोले यसखालको प्रस्तुतिले मधेशी समुदाय अपहेलित महसुस गरिरहेकाले कार्यक्रम प्रस्तोता सहित व्यवस्थापक र प्रड्युसरलाई कानुन अनुसार कारवाहीको प्रकृया अगाडि बढाउन निवेदनमा आग्रह गरिएको छ ।
कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले अंगिकृत नागकिरताको विषयमा मधेशी महिलाको बारेमा व्यंग्य गरेका छन् । सन्दीप क्षेत्री आफ्नो अनुहारमा कालो पोतेर मधेशीको भेषभुषामा हुन्छन् ।







