माघ, २३ काठमाडौं । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहसम्म सम्पर्क स्थापित गर्ने भएको छ ।
आयोगका नवनियुक्त अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसाका समस्या समाधान गर्न नीतिगतरुपमा पहल गर्दै स्थानीय तहसँगको समन्वय बढाइने बताइन्।
पदबहालीको भोलिपल्ट आज भद्रकालीस्थित आयोगको कार्यालयमा उनलेसँग कुरा गर्दै केन्द्रमा रहेका सेवालाई गाउँगाउँसम्म कसरी लैजाने भन्ने विषयमा आफ्नो पहिलो प्राथमिकता हुने र एक महिनाभित्र अनुभूत हुने तथा परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“महिलामाथि हुने नयाँनयाँ घटनाका बारेमा अध्ययन अनुसन्धान गर्ने र त्यसको निराकरणका लागि अभियान सञ्चालन गर्न पनि आयोगको ध्यान जाने छ ।” उनले भनिन्, “स्थान, परिवेश र घटनाको प्रकृति हेरी आवश्यकतानुरुप कानून परिमार्जन गर्न पनि आयोग तयार रहनेछ ।” आयोगमा अध्यक्ष पराजुली र सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हाले बिहीबार सपथ ग्रहणपछि पदबहाली गरेकी थिइन् ।
महिलाको हकअधिकार रक्षा र पीडित महिलालाई कानूनी उपचार दिन लागि विसं २०५८ मा आयोगको स्थापना भएको थियो । लामो समयसम्म रिक्त संवैधानिक आयोगमा बिहीबार नियुक्ति भएको थियो ।






