३० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए ।
‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’
मन्त्री थापाले प्रष्ट रुपमा भनेका छन्, ‘नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दाखेरि हाम्रोमा डुबान भयो । सीमामा समानान्तर रुपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको छ । नेपालमा हस्तक्षेप नै हो त्यो ।’
नेपाली भूमिलाई डुबानमा पार्ने गरी भएका भारतीय निर्माण बारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको मन्त्री थापाको भनाइ छ ।
त्यसो हुनुमा भारत सरकार जिम्मेवार रहेको उनको भनाइ छ ।
‘यसबारेमा सरकारले पहल नगरेको होइन । उनीहरुले त्यो बाँध र बाटो बनाएका छन्, त्यसमा निकास दिनुप¥यो भनेका हौं । निकास भएन भने त नेपाल पुरै डुबानमा पर्छ । उनीहरुले आफ्नो रक्षाको निम्ती बाँध, तटबन्ध बनाए तर नेपालमा खतरा आयो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भयो’ थापाले भने ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका पछिल्ला नेपाल भ्रमणका क्रममा तराईमा भारतका कारण भइरहेका बाँध र सडकका कारण भएका डुबानबारे छलफल भएको तर भारतले सम्झौताअनुसार काम नगरेकाले नेपाल झन् डुबानमा परेको उनको भनाई छ ।
भारतका कारण नै दुई देशबीच डुबानलाई लिएर प्रभावकारी कार्यान्वयन र काम नभएको मन्त्री थापाको भनाइ थियो ।
भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए ।
‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने ।
भारतीय सीमा क्षेत्रको समस्या बाहेक अन्यत्र विपत्त व्यवस्थापनका सन्दर्भमा सरकारले प्रभावकारी रुपमा काम गरिरहेको, विपत्त व्यवस्थापन सम्बन्धी आवश्यक कानुनी व्यवस्था गरेको उनको दाबी छ ।
नागरिक आफैँ विपत्तबाट बच्न सचेत हुनुपर्ने पनि गृहमन्त्री थापाले बताए । ‘आफ्नो रक्षा गर्ने जिम्मेवारी नागरिक आफैँको पनि हो’ उनले भने ।
नेपालमा विकास निर्माण कमजोर हुँदा बढी क्षेति बेहोर्नुपरेको सांसदहरुको भनाईमा गृहमन्त्री थापाले समर्थन जनाए ।
‘विपत्त प्राकृतिक हो । तर, क्षति मानव निर्मित हो । प्रकृतिलाई दोष दिएर त हुन्न’ गृहमन्त्री थापा भन्छन्, ‘प्रकृतिको सदुपयोग भन्दा दुरुपयोग गर्दा, कमजोर ठाउँमा बसोबास गर्दा वा कमजोर संरचनाका कारण बढी क्षेति बेहोर्नुपरेको छ ।’







