३१ असार, काठमाडौं । जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे पार्टीले कुनै निर्णय नलिएको बताएको छ ।
अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर एमसीसीबारे आफ्नो नीति र धारणा निर्माणका लागि आन्तरिक छलफल भइरहेको बताएका हुन् ।
‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन’ विज्ञप्तिमा भनिएको छ ।
गत आइतबार मात्र जसपाको प्रवास विशेष कमिटीले बनाएको कार्यदलले एमसीसीलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिएको छ । र, राष्ट्रियता र स्वाधिनतामा आँच आउने शर्तहरु राखेर सहयोग लिन नहुने सुझाव दिइएको छ । त्यसलाई जसपाकै धारणाका रुपमा प्रचार भएपछि पार्टीले बोल्नु परेको एक नेताले बताए ।
यसले सत्तारुढ नेकपाभित्र विवादित नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता जसपाभित्र बहसको विषय बनेको थालेको देखाउँदछ ।
राजपा र समाजवादी एकता भएर निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको एक दिनपछि सोमबार जसपाले विज्ञप्ति नै जारी गरेर यसबारे ’छलफल र गृहकार्य भइरहेको’ धारणा सार्वजनिक गरेको हो ।
एमसीसी सम्झौता भएर संसदमा दर्ता भएको लामो समय भएर बहस र विवादको विषय बन्दा तत्कालिन राजपा नेपाल र समाजवादी पार्टी मौन थिए । दुई पार्टी एक भएर संसदको तेस्रो ठूलो दल बनेपछि एमसीसीबारे पार्टीभित्र छलफल सुरु गरेका हुन् ।
सत्तारुढ नेकपा नै एमसीसीबारे अलमलमा रहेका बेला जसपाले तत्काल धारणा बनाइहाल्न आवश्यक नभएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतो बताउँछन् ।
उनी भन्छन्, ‘सत्तारुढ पार्टी नै यस विषयमा अलमलमा छ । उसले नै धारणा बनाएको छैन । संसदमा एजेन्डा पनि बनेको छैन । संसदमा एजेन्डा ल्याएपछि हामी पनि आफ्नो धारणा सार्वजनिक गर्छौं ।,’
तत्कालीन समाजवादीका सहअध्यक्ष रहेका राजेन्द्र श्रेष्ठले एमसीसीलाई परिमार्जन गरेर मात्रै पारित गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट ती नेताका अनुसार संसद अधिवशेन नभएको अवस्था हुन्थ्यो भने जसपामा एमसीसीबारे वारपार भइसक्थ्यो । सरकारले असार १८ गते संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेको थियो । उनको भनाइअनुसार पार्टीका शीर्ष नेताहरुबीच एमसीसीबारे अनौपचारिक छलफल भइरहेको छ ।







