१५ भदौ, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप आठ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस अवधिमा थप सात जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन्।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा झापा, रौटहट, चितवन, भक्तपुर, गोरखा, रुपन्देही र महोत्तरीमा गरी थप सात जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ। आज ज्यान गुमाउनेमा चार पुरुष र तीन महिला छन्।
गौतमका अनुसार सोमबार पाँच सय ९६ जना पुरुष र तीन सय तीन जना महिलामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका दुई ९८ जना छन्। काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय २९ पीसीआर परीक्षण भएको छ। आज पुष्टि भएकोसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ छ। बाँकी २१ हजार ४ सय १० संक्रमित निको भइसकेका छन्।







