नेकपाका नेताको कोरोना संक्रमणबाट निधन

१५ भदौ, काठमाडौं। नेकपाका नेता शोभाखर चापागाईंको कोरोना संक्रमणबाट निधन भएको छ।

चितवनको भरतपुर महानगरपालिका ६ केदरबाग निवासी ८७ वर्षीय चापागाईंको सोमबार बिहान भरतपुर कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

२ भदौमा कोरोना पुष्टि भएका चापागाईंमा श्वासप्रश्वास र दमको समस्या देखिएपछि ६ भदौमा भरतपुर अस्पताल भर्ना गरिएको थियो। उचारकै क्रममा उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

चापागाईं ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनका सदस्य थिए। चितवनका पुराना कम्युनिष्ट नेता एवं चापागाईंका समकालीन साथी विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका थिए।

नेकपा चितवनका नेता हरि सापकोटाका अनुसार चापागाईंले राजनीतिसँगै सामाजिक क्षेत्रमासमेत उल्लेखनीय योगदान छ।

चापागाईंकै नेतृत्वमा चितवनमा स्थापना भएको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा स्थापित छ। विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका चापागाईं २०२४ मा बसाइँ सरेर चितवन आएका भतिज शिव चापागाईंले बताए।

चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना छन्। चापागाईंको निधनप्रति नेकपा चितवनले दुःख व्यक्त गरेको छ।