१५ भदौ, काठमाडौं। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कञ्जका दुई किशोरीको स्थानीय दोदा नदीमा डुबेर मृत्यु भएको छ।
सोमबार दिउँसो नदीमा डुबेकी एक बालिकाको भने सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको हो।
उनीहरुसँगै नदीमा डुबेकी १२ वर्षीया अनु रानालाई भने स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन्। मृतक दुवैको शव घटनास्थलबाट तीन सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
उनीहरु माछा मार्नका लागि नदीमा गएको अभिभावकको भनाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
उद्धार गरिएकी बालिकालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ। मृतक दुवै किाको शव नदीबाट झिकेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।







