एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

१६ भदौ, चितवन। पृथ्वी राजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारामा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।

दुर्घटनामा सर्लाहीको वरहथवा-२ का १५ वर्षीय बादे रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। घाइते हुनेमा एम्बुलेन्सका चालकसमेत छन्।

काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। घाइते चार जनाको भरतपुरमै उपचार भइरहेको छ।