कोरोना संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु

१६ भदौ, काठमाडौं। कोरोना संक्रमणको कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ।

चितवन, पर्सा, मकवानपुर र सिरहामा गरेर थप ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चार पुरुष र दुई जना महिला छन्। मृत्यु हुनेमा १८ वर्षीया एक युवतीसमेत छिन्।

वीरगञ्जमा सोमबार राति ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। १७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत उनको राति १ बजे मृत्यु भएको हो। अस्पतालकी फोकल पर्सन भूमिका अधिकारीका अनुसार उनी वीरगन्ज महानगरपालिका २० का बासिन्दा हुन्।

कोरोना संक्रमण पुष्टि भएपछि ३१ साउनमा उनलाई अस्पताल भर्ना गरिएको थियो। उनमा मधुमेह र मिर्गौलाकोसमेत समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारत हेटौँडाका एक पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। हेटौडा उपमहानगरपालिका १५ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।

उनी ज्वरो र खोकी लागेपछि १५ भदौमा अस्पतालमा भर्ना भएका थिए। १५ गते नै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको १६ गते बिहान उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

यसअघि चितवनमा सोमबार मृत्यु भएका तीन जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो तीन जनाको मृत्यु भएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका उनीहरुमा मृत्युपछि संक्रमण पुष्टि भएको हो।

मृत्यु हुनेमा भरतपुर ११ की १८ वर्षकी युवती र ६५ वर्षीय पुरूष तथा खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला छन्।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको हो। सोमबार राति उनीहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो।

त्यसैगरी सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको प्रतिष्ठानको आइसियुमा उपचार हुँदै आएको थियो। उनको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनलाई यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको हो।

आज ज्यान गुमाएका ६ जनासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय ३४ पुगेको छ।