इन्द्रजात्रा नेपालको सांस्कृतिक पूँजी : प्रधानमन्त्री

१६ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने चाडपर्वले नेपालाीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको बताएका छन्।

इन्द्रजात्रा पर्वका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यस्तै सांस्कृतिक आलोकमा परास्त गर्दै आएको उल्लेख गरेका छन्।

‘सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह हुँदै आएको छ।’

सन्देशमा अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी रहेको उल्लेख छ। उनले सबल राष्ट्रिय एकताको सांस्कृतिक आधारशिला नेपालीका लागि गौरवको विषय भएको बताएका छन्।

सन्देशमा ओलीले कोभिड– १९ महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वानसमेत गरेका छन्।

उनले महामारीबाट सुरक्षित भई समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन पनि सबैलाई आग्रहसमेत गरेका छन्। रासस