काठमाडौ।नेपाल र नेपालीको गौरवलाई बिश्वसामु चिनाउने , अरुको दु:ख देख्न नसक्ने सामाजिक अभियान्ता भिम उपाध्यायले सरकारले गत असारमा किनेर लिएको रेल अझैसम्म पुर्ण रुपमा प्रयोगमा नआएको भन्दै सरकार प्रति आक्रोस प्रकट गरेका छन् ।भिम उपाध्याय लेख्छन “सरकारले गत असोज २ गते १ अर्ब रुपैयाँमा किनेर ल्याएको नयाँ रेल अहिले ५ महिनासम्म पनि भारतको जयनगरको बोर्डरमा घुम्टो ओडेर निदाईरहेको छ। रेल नचलाएर यसै थन्काए पनि दैनिक ४ लाख रुपैयाँ खर्च हुन्छ। ३ लाख रुपैयाँ ह्रासकट्टी र १ लाख रुपैयाँ सुरक्षा खर्च छ। अरू कर्मचारी भर्ना, सेक्युरिटी र अन्य सबै ब्यवस्था गरेपछि पनि रेल चलाउन सकिएन भने दैनिक थप १० लाख रुपैयाँ खर्च हुनेछ।
नेपालको रेल चलाउन भारतबाट २६ जना दक्ष जनशक्ति भर्ना गरिदै छ। नेपालीले पाउने भन्दा भारतीय समकक्षी पदमा हुनेले पाउने तलब स्केल ४ दोब्बर बढी हुने गर्छ। त्यसमाथि थप अन्तर्राष्ट्रिय भत्ता पनि दिनुपर्छ। त्यसबाहेक नेपाल रेल्वे कम्पनीले १५० भन्दा बढी करारमा कर्मचारी भर्नाको विज्ञापन गरेको थियो । लोकसेवाले करारमा गर्न नमिल्ने भने पछि ३८ हजार परीक्षा शुल्क बुझाएका करोडौं रकम बुझाएका आवेदकहरू अझै ट्वॉ परिरहेका छन्। परीक्षाका नाममा आवेदकहरूबाट करोडौँ रूपैया उठाईसकिएको छ।
प्लाष्टिकले बेरेर चिटिक्क सिंगारिएको नयॉ रेललाई सुरक्षा गर्न भनी हमेसा खटिने ५० जना प्रहरीको तलब, भत्ता, दानापानी र अन्य बन्दोबस्तिका सामाग्रीको खर्च हिसाब गर्दा महिनाको करिब ३० लाख रुपैयाँ सुरक्षा खर्च नै लाग्ने देखिन्छ, अर्थात प्रति दिनको १ लाख रुपैयाँ खर्च छ ! ५ महिना थन्किसकेकोले लाखौं रूपैयाँको टुट्टा र खति भईसकेको छ। अझ कति महिना यसरी नै थन्काएर राख्नुपर्ने हो, ठेगान छैन।
नेपालले भारतको जयनगरस्थित लिजमा लिएको स्टेशनमा रेल राख्दा असुक्षित हुने भएकोले प्लाष्टिकले बेरेको नयॉ रेल नेपालमा फिर्ता ल्याई नेपालको ईनर्वा स्टेशनमा चोबिसै घण्टा ५० जना नेपाल प्रहरीको पहरामा राखिएको हो । त्यपछि पनि रेलको लिक र स्टेशनका सामान चोरी भईरहेका छन्। यसरी ३१ किमी दूरीको यात्राका लागि किनेको रेलले वर्षमा १० करोड रुपैयाँ ह्रासकट्टी बापत, १० करोड रुपैयाँ संचालन खर्च, १० करोड रुपैयाँ मर्मत खर्च कटाएर नाफा कमाउन जम्मा वर्षेनी करिब ५० करोड रुपैयाँ कमाउनुपर्छ ।

कुनै पनि मेसिनरीको मूल्य निरन्तर घट्दै जान्छ, त्यसलाई डिप्रेशियसन वा ह्रासकट्टी भनिन्छ।। यो घट्ने मूल्य औषत १०%-१२% हुन्छ। नयाँ नयाँ प्रविधिको निरन्तर क्रान्ति र आविष्कारका कारण मूल्य घट्ने दर वा ह्रासकट्टी २०% देखि ५०% सम्म पनि हुन सक्छ। यो १ अर्ब रुपैयाँमा किनेको रेल १ महिना थन्किदा १ करोड रुपैयाँ लागत मूल्य घटिसकेको हुन्छ। अर्थात् १ दिनमा ३ लाख रुपैयाँ मूल्य डिप्रेशियट वा ह्रासकट्टी भइसकेको हुन्छ। जति दिन थन्क्यो रेलको मूल्य र बॉकी आयु त्यति नै घट्दै गइरहन्छ। त्यसमाथि रेल प्रविधिमा वर्षेनी नयॉ नयॉ आविष्कार हुदै गएकोले २,३ वर्षमा नै पहिलेको प्रविधि काम नलाग्ने बोझ बन्न पनि सक्छ। १ अर्ब रुपैयाँको यो जनकपुरको रेल पनि ५० वर्ष पूरानो प्रविधियुक्त हो। अर्बको रेलको डिब्बा मात्रले कति फाईदा कमाउछ, कि बोझ बन्छ त्यो हेर्न बॉकी नै छ। विगत ५ महिनामै ५ करोड रुपैयाँ स्वाहा भईसकेको छ।
सेतो हात्ती बन्न नदिन जनकपुर जयनगर रेललाई तुरून्त निजीकरण गर्नुपर्छ। सरकारी कम्पनीहरू राजनीतिक नेताका लागि दुहुनो गाई र कार्यकर्ता भर्तिकेन्द्र मात्र हुन्छन्। रेल कम्पनीले रेलसेवा चलाउने भए सरकारले एक पैसा पनि अनुदान दिन हुदैन, आफै कमाएर ऋण लिएर चलाउनु पर्छ। नत्र गरिब जनताको थाप्लोमा थोपरिएको कर र राजश्वबाट अर्बौँ बजेट यी २ वटा रेलगाडी ३१ किमी मार्गमा चलाउनैका लागि खर्चिनुपर्ने हुन्छ। सरकारले यसरी सेतो हात्ती पाल्न मिल्दैन। त्यसै पनि अर्बको रेलगाडी ५ महिनादेखि गराजमा थन्काई सकिएको छ। अब कहिलेदेखि संचालन हुने हो पशुपतिनाथलाई मात्र थाहा होला।
३१ किमी रेल लिकमा २ वटा रेल २/४ पटक ओहरदोहर गर्न र चलाउन रेल कम्पनीले १५०-२०० जना कर्मचारी भर्ना गर्छु भन्छ। सायद यो विश्वकै सबैभन्दा महंगो रेलवे लाईन होला।
जनकपुर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम भारतले २ वर्ष अघि २०७५ सालमा नै सकिदिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर अझै चल्ने ठेगान छैन, चले पनि कमाएर देशलाई पाल्ला ? रेलवे सेवा संचालन गर्न, कर्मचारी भर्ना गर्न, तालिम, प्रशिक्षण, उच्च अध्ययन गर्न गराउन, क्षमता बिकास गराउन, डिजेल मोबिल किन्न र मर्मत सम्भार गर्ने खर्च समेत गरेर न्युनतम वार्षिक करिब १० करोड रुपैयाँ हुने नै छ। जनकपुर आउने र भारतमा तिर्थाटन गर्न वा ससुराली जाने यात्रुबाट रेलसेवाबाट नाफाको त कुरा छाडौँ, रोलमार्गको लगानी मात्र उठ्ती भएछ भने साष्टाङ्ग दण्डवत गर्दा हुन्छ।
रेलमा खर्चिएको यतिका रकमले देशभरि ५०० वटा बिजुली बस किन्न सकिन्थ्यो। बिजुली बस चलाएको भए नेपालको आफ्नो बिजुली पनि खपत हुने, रोजगारी पनि हजारौँको बढ्ने थियो, थप आम्दानी हुने नै थियो। पर्वावरण सुरक्षित हुने, विदेशी मुद्रा जोगिने हुने नै हो। रेल चलाउने रहर नै हो भने बिजुली रेल तिर पो लाग्नुपर्ने हो नि, कता कसको बुद्धिले अहिलेको युगमा पनि आउटडेटेड हुदै गएको डिजेल रेलतिर कुद्न पुगेछन्।
जनकपुर जयनगर रेल माईक्रोबस हैन कि छिनछिनमा आफूलाई चाहिएको बेलामा चढ्न पाईयोस्। त्यो त आफ्नो सुरमा दिनको एकदुई पटक यसो ओहरदोहर गर्ने हो। कसैलाई अहिले यात्रा गर्नुछ, ट्साक्सी वा बस नचढेर जाबो १५ मिनटको यात्रा गर्न त्यो ढ्याम्से रेल चढ्न कसले पर्खिबस्छ? रेल लामो यात्राको लागि हुन्छ, यात्रू हैन माल ढुवानीबाट हो कमाउने रेलले!
ए बा! यो १ अर्ब मूल्यको नयॉ रेल ल्याएको जनतालाई दर्शन गर्नका लागि पो रहेछ कि क्या हो? अहिलेसम्म हेर्न पनि पाएका छैनन्, चढ्ने भाग्य त कता हो कता!
सरकार त रेल चलाउनु माईक्रो बस चलाए झै जस्तो ठान्दा पो रहेछन्! सरकार त जो सुकै बटुवा जसले पनि मजाले चलाई दिन्छ। रेल चलाउनु सरकार चलाएजस्तो सजिलो काम कहॉ हुन्छ र? रेल चलाउनु के हो भन्ने बल्ल थाहा पाए हुनन् हाम्रा बयोबृद्ध नेताजीहरूले! रेल चलाउनु भनेको ऐरूगैरू जो पायो त्यसले सरकार चलाए जस्तो सजिलो हुने भएको भए एशियाको स्विट्जरल्याण्ड भनिने नेपालको जमिनमुनिभरि स्विट्जरल्याण्डमा झैँ बिछ्याईएका रेललाईनमा रेलका तॉती कुदिरहेका हुन्थे। एउटो ड्याम्से रेल ल्याउदा मै अहिले नेताहरू थचक्क ओथारो बस्न परेर चेतेका हुनन्!
मेरो दृष्टि प्रष्ट छ: १ अर्ब रुपैयाँको रेल चढ्नेहरूले नै सबै खर्च तिरून्। अरू नेपालीमाथि रेलको खर्चको एकपैसा पनि दायित्व नचढोस्। १ पैसा पनि सरकारको ढुकुटीबाट त्यो रेलका लागि खर्च नगरियोस्। रेल कम्पनीले आफै कमाउ, आफै ऋण लेउ, आफै कमाएर ऋण तिर, शेयर उठाउ, कि के गर्नु छ गर तर सरकार ग्यारेन्टी नबस, आफै पालिउ, पाल जति जना मान्छे पाल्न मन छ। गरिब नेपाली जनतालाई रेलका नामको भावनात्मक शोषण गर्दै सरकारी खुरीखेलाईको एक पैसा घाटाको खाता सहनु र बेहोर्नु छैन ।हैन नेताहरूमा रेलप्रति यति औधी मायाप्रिति छ भने नेकपा कम्पनीले रेलसेवा लिजमा लिए पनि हुन्छ।







