१६ भदौ, काठमाडौं। हेम-सरिता पाठक फाउन्डेसनले एक हजार डलर राशीको भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय गीत प्रतियोगिता गर्ने भएको छ।
प्रतियोगितामा उत्कृष्ट स्रष्टालाई पुरस्कृत गरिने फाउन्डेसनका संयोजक राधेश्याम लेकालीले प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराएका छन्। प्रतियोगिता सहभागी हुनेले आगामी मंसिरसम्ममा गीत उपलब्ध गराईसक्नुपर्ने छ।
प्रतियोगितामा प्रस्तुत गरिने गीत भ्रष्टाचार विरूद्ध जनचेतना जगाउने खालको हुनुपर्ने फाउन्डेनले जनाएको छ।
त्यसैगरी प्रस्तुत गरिने गीतमा कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचार र अश्लील शब्दको प्रयोग भएको नहुने, गीत रेकर्डेड हुनुपर्ने, एकजना गीतकारको एउटा मात्र गीत प्रतियोगितामा समावेश गरिने पनि फाउन्डेसनले जनाएको छ।
अमेरिकामा बसोबास गर्ने समाजसेवी हेम पाठक र सरिता पाठकले प्रतियोगितामा उत्कृष्ठ हुने स्रष्टालाई पुरस्कार रकमको ब्यवस्था गरेका हुन्। यसअघि फाउन्डेनले एक हजार डलरकै भ्रष्टाचार विरुद्धको कविता प्रतियोगितासमेत आयोजना गरेको थियो।
फाउन्डेसनले पत्रकारितासँगै सङ्गीत र साहित्यमा पनि पुरस्कार प्रदान गर्दै आएको छ। त्यसैगरी विद्यालय संचालन, विपन्न वर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि फाउन्डेनले रकम अनुदानसमेत दिँदै आएको छ।
यस्तो छ गीत पठाउने नियम
भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ। यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यसप्रकार छन्
१.आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।
२. गीत रेकर्ड गरेको हुनुपर्नेछ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वत; अस्वीकृत हुनेछन्।
४. एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन्। एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन्।
५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ।
६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ।
७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ।
८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ।
९. पुरस्कार : नगद १०००। (युएसडलर) प्रमाणपत्रसहित हुनेछ।
१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।सम्पर्क : Email : hemsaritapathak@gmail.com
Phone No : 9851059354







