१६ भदौ, काठमाडौं। काठमाडौँ उपत्यकामा विगत दुई सातादेखि जारी निषेधाज्ञा थप हुने या नहुने भोली निर्णय हुने भएको छ।
उपत्यकामा निषेधाज्ञा थप गर्ने या नगर्ने भन्ने विषयमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच मंगलबार छलफल भएको छ।
निषेधाज्ञाको बारेमा निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँगसमेत छलफल शुरु गरेका हुन्।
यस विषयमा तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच मंगलबार भर्चुअल बैठक भएको छ। ‘सबै सरोकारवालासँग परामर्श लिने काम भइरहेको छ। त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।
स्थानीय प्रशासनले ४ भदौदेखि एक साताका लागि उपत्यकका तीनवटै जिल्लामा निषेधको आदेश जारी गरेको थियो। १० भदौमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले निषेधाज्ञालाई १७ भदौको राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको थियो। निर्धारित समयको एक दिनअगावै तीनवटै जिल्लाका प्रजिअले उपयुक्त निर्णय लिन छलफल र परामर्श शुरु गरेका हुन्।
विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीन जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने छन्। यसका लागि बुधबार गृहमन्त्रालयसँग पुनः थप छलफल हुने प्रजिअ दाहालले बताए।
दाहालका अनुसार आज भएको छलफलमा कतिपय विज्ञबाट निषेधाज्ञालाई केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको छ भने कतिपयले अझै कडाइ गर्नुपर्ने सुझावसमेत दिएका छन्।
उपत्यका नगरपालिका फोरमले भने निषेधाज्ञालाई अझै कडा गर्नुपर्ने सुझाब स्थानीय प्रजिअहरुलाई दिएको छ। फोरममा उपत्यकाका १८ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन्।
फोरमका सचिव मदनसुन्दर श्रेष्ठले अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएकाले अर्को एक साता निषेधाज्ञा थप गर्नुपर्ने सुझाब आफूहरुले दिएको जानकारी दिए। ‘सर्वसाधारणले निषेधाज्ञाको पूर्ण पालना गरिरहेका छैनन्। त्यसैले कोरोना संक्रमण रोक्न यसलाई अझ कडा गर्नुपर्छ,’ उनले भने।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निषेधाज्ञा पूर्ण पालना गर्नु नै कोरोना संक्रमण नियन्त्रण गर्ने उपयुक्त विधि भएको बताए। ‘मानिसले स्वास्थ्य मापदण्ड पालना नगरे जस्तोसुकै कडा निषेधाज्ञा लगाए पनि संक्रमण रोकिँदैन,’ उनले भने।







