फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य

१६ भदौ, काठमाडौं। पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य केही दिनदेखि पुनः वृद्धि हुन थालेको छ।

भदौको पहिलो साता लगातार घटेको सुनको मूल्य विगत तीन दिनदेखि निरन्तर उकालो लागिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ वृद्धि भएको छ। महासङ्घले मंगलबारका लागि छापालाला सुनको मूल्य प्रतितोला ९८ हजार चार सय तोकेको थियो। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार नौ सय तोकिएको छ।

सोमबार छापावाला सुनको मूल्य ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार कायम गरिएको थियो। यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेर एक हजार ३९५ पुगेको छ। शुक्रबार ६९ हजार ९०० मा झरेको सुनको मूल्य आइतबार बढेर प्रतितोला ९७ हजार २०० र सोमबार ९७ हजार पाँच सय रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ।