दाहाललाई राम राम भन्‍न सकिन्छ, काँध हाल्न सकिन्‍न : ओली

फागुन,८ काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल फेरि असफल हुने बाटोमा लागेको बताएका छन् । विगतमा माओवादी आन्दोलन सफल पार्न नसकेर आफ्ना सहकर्मी नेताहरुको साथ गुमाएका दाहाल फेरि एक्लिएकाले असफलबाहेक अरु हात नलाग्‍ने दाबी गरेका हुन् ।

विराटनगरमा आफ्नो समूहको भेलामा ओलीले पार्टी फुटाएर गएका दाहाललाई ‘राम राम भन्न सकिने तर काँध हाल्न सकिन्‍न’ भन्दै टिप्पणी गरे । आफूले पटक पटक दाहाल र माधव नेपाललाई पार्टीमा फर्किएर आउन आग्रह गरेपनि उनीहरु नफर्किएको ओलीको भनाई छ । यस्तो अवस्थामा राम राम भन्नुबाहेक अरु विकल्प नभएको पनि ओलीले दाबी गरे ।

‘पार्टी फुटाएर जानेलाई मैले पटक पटक पार्टीमा फर्किन आग्रह गरे । तर उहाँहरु आउनु भएन’ विराटनगरमा आयोजित सभामा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तालाई राम राम भन्न सकिन्छ । काँध हाल्न सकिन्न ।’