कोरोना समुदायमा फैलिएको छ/छैन? सरकारले अध्ययन गर्ने

१७ भदौ, काठमाडौं। सरकारले कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको होहोइन अध्ययन गर्ने भएको छ।

कोभिड-१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागेको हो।

नेपाल अहिले सङ्क्रमणका दोस्रो चरणमा छ। सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ। गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक व्यक्तिबाट घरकै रहेका अर्को व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो। सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हो।

महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा सङ्क्रमण देखिन थालेपछि समुदायमा नै सङ्क्रमण फैलिएको हो कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिए।

यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौँ उपत्यकामा पनि समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो। सो अध्ययनले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण नफैलिएको निष्कर्ष निकालेको थियो। त्यतिबेलाभन्दा अहिले काठमाडौँ उपत्यकामा सङ्क्रमण दर बढिरहेको छ। मंगलबार मात्र काठमाडौं उपत्यकामा ४८१ जनामा सङ्क्रमण देखिएको थियो।

‘सङ्क्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै कोरोना फैलिएको हो कि भन्ने देखाउँछ,’ पाण्डेले भने, ‘अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैनन् भन्ने पुष्टि गर्नुपर्छ।’

महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न लागेको हो। अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने पाण्डेले बताए।

सातवटै प्रदेशका सङ्क्रमण बढी फैलिएका ठाउँमा गई छ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ। महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ।

एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरेपछि नेपालमा समुदायस्तरमा कोरोना फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ।

महाशाखाका निर्देशक डा.पाण्डेले अवको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने जानकारी दिए। अबको करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिनेछ।

‘पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र सङ्क्रमण देखिएको थियो’, उनले भने, ‘तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ। काठमाडौँमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा सङ्क्रमण देखिएपछि अध्ययन गर्न लागेका हौँ।’

विगतमा विदेशमा आएका १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा सङ्क्रमण देखिए पनि अहिले नेपालभित्रकै जो कोहीलाई पनि सङ्क्रमण देखिन थालेको उनले बताए।

गत माघ ९ गते नेपालमा पहिलोपटक सङ्क्रमण देखिएको थियो। अहिलेसम्म ४६ वटा प्रयोगशालामा सात लाख पाँच हजार ५६० जनामा गरिएको पिसिआर परीक्षणमा ४० हजार ५२९ जना कोभिड– १९ को सङ्क्रमण देखिएको छ।

पिसिआर परीक्षण गरिएकामध्ये ५.७ प्रतिशतमा संक्रमण देखिएको छ। नेपालमा हाल सक्रिय सङ्क्रमितको संख्या १८ हजार ११२ छ । अहिलेसम्म २४० भन्दा बढीको सङ्क्रमणका कारणले निधन भइसकेको छ। नेपालमा प्रति १० लाखमा ७.८ प्रतिशत मृत्युदर छ भने सङ्क्रमितमध्येबाट मृत्युदर ०.६ प्रतिशत रहेको छ।

मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित भेटिएका छन्।

अहिलेसम्म २२ हजार १७८ जना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत डिस्चार्ज भएका छन् । अहिले संस्थागत आइसोलेशनमा १० हजार ८३२ जना, होम आइसोलेशनमा सात हजार २८० जना र क्वारेन्टिनमा सात हजार ३९० जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समुदायमा सङ्क्रमण अझै गई नसकेको दाबी गरे। ‘सङ्क्रमणको सूचक हेर्दा नेपाल तेस्रो चरण प्रवेशका क्रममा छ,’ उनले भने। रासस