१७ भदौ, चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटमा बोलेरोलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष छन्। उनी बोलेरोका चालक भएको प्रहरीले जनाएको छ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१९च ७६७७ नम्बरको बोलेरोलाई विपरीत दिशाबाट आइरहेको ग२ख ४३१९ नम्बरको ट्रकले बुधबार बिहान साढे ११ बजे ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका बोलेरो चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको नाम, थर, ठेगाना खुल्न सकेको छैन। दुर्घटनापछि दुवै सवारी साधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।







