१७ भदौ, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरी थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये २३ हजार २९० जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप ११ सय १२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका उनले जानकारी दिए।
‘पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा ३२० महिला र ८०० जना पुरुष रहेका छन्,’ प्रेस ब्रिफिङमा गौतमले भने। आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ पुगेको छ।
बुधबार काठमाडौं उपत्यकामा मात्रै थप ३८८ जना संक्रमित थपिएका छन्।
प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।







