१८ भदौ, काठमाडौं। बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा बुधबार राति गएको बाढीपहिरोमा परेर कम्तिमा पनि १० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाढीपहिरोमा अझै ४१ जना हराइरहेका छन्।
बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
नगरपालिकाको ७, ८ र ९ नम्बर वडा भएर बग्ने स्थानीय भूजी खोलाको बाढी वरपरका बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएको हो। बेपत्ताको संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।
घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए। बाढीले ३१ घरमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
‘हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ’, उनले भने ।
घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाको उद्धार टोली खटिएका छन्। बाढीपहिरोमा परेर कम्तिमा चार जना घाइते भएका प्रहरीले जनाएको छ। अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।
प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन छन्। घटनास्थल सदरमुकामबाट गाडी र पैदल गरेर झण्डै ८ घण्टाको दूरीमा छ।
बुधबार साँझदेखि परेको अविरल वर्षाको कारण पहिरो खसेर स्थानीय भूजी खोला थुनिएर एक्कासी खोलिँदा बाढी बस्तीमा पसेको अनुमान स्थानीयले गरेका छन्।







