एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, थप ६ जनाको मृत्यु

१८ भदौ, काठमाडौं। नेपालमा आज एकैदिन अहिलेसम्मकै धेरैमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबार देशभरी गरेर एक हजार दुई सय २८ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या एकै दिन पुष्टि भएको अहलेसम्मकै सबैभन्दा धेरै हो।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार दिउँसो मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन्।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताए।

आज डिस्चार्ज भएकासहित कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ। गौतमका अनुसार हाल देशमा १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गौतमले बताए। काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको थियो।