जबर्जस्ती मच्छिन्द्रनाथको रथ तान्दा ललितपुरमा झडप

१८ भदौ, काठमाडौं। रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न बिहीबार दिउँसो जबर्जस्ती हजारौँ युवा पुल्चोकमा भेला हुँदा झडप भएको छ।

प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी रथयात्रामा सहभागीहरुलाई हटाएको छ। त्यसक्रममा केही युवा र प्रहरीसमेत घाइते भएका छन्।

कोभिड महामारीका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा छ। यस वर्ष सरकारले रथयात्रा गर्न नदिने निर्ण गरेपनि स्थानीयले बिहान ११ बजे जबर्जस्ती रथयात्रा गर्न खोज्दा तनाव बढेको हो।

महामारी नियन्त्रण नभएसम्म मच्छिन्द्रनाथको रथयात्रा तथा भोटोजात्रा दुवै गर्न अनुमति नदिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। ‘हामीले कुनै पनि मानवीय क्षति हुन नदिई सामान्य तरीका अपनाएर रथयात्रा गर्न आएका मानिसलाई हटायौँ, उनले भने।

ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ।

वृष्टिदेवको रथयात्रा गर्न आएका मानिसलाई प्रहरीले कोरोना बढ्ने देखी पुल्चोकबाट हटाएको पुजारी पूर्णराज शाक्यले बताए। रथयात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरु सडकमा उत्रिएको हुन सक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए।

सडकमा उत्रिएका युवाले ‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छौं,’ लगायतका नारा लगाएका थिए। युवा सडकमा उत्रिएर करीब २० पाइला रथयात्रासमेत गरेपछि झडप सुरु भएको हो।

यसअघि पनि कोभिड–१९ का कारण पटक पटक लोकेश्वरको रथयात्रा अन्योलमा परेको थियो । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण् भएको रथमा विराजमान गराइएको थियो।

हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याएर भोटो जात्रा गर्ने चलन छ । यस वर्ष भने महामारीका कारण मच्छिन्द्रनाथको भोटोजात्रा कहिले सम्पन्न हुन्छ भन्ने कसैलाई पनि जानकारी छैन।

विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए। मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो। किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी नागहरु यताउता लागेपछि वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको किम्बन्ती छ। रासस