१८ भदौ, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने प्रस्ताव गरेको छ ।
कोभिड–१९ को संक्रमणको त्रासले चैत महिनायता देशभरका विद्यालय बन्द छन् ।
स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो ।
‘शिक्षकहरू अहिले त्यतिकै बसिराख्नु भएको छ’, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भने,‘हामीले शिक्षकहरूलाई खटाउने विषयमा शिक्षा मन्त्रालयलाई पत्र लेखेका छौं।’
सरकारले निषेधाज्ञाबीच कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गराउने तयारी गरिरहेको छ ।
काठमाडौंमा एक साताभित्र ४० देखि ५० हजार जनाको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर परीक्षण गर्ने तयारी भैरहेको पोखरेलले बताए ।
हाल देशभर १ हजार ७५ कन्ट्याक्ट ट्रेसिङ गर्ने टोलीले काम गरिरहेको छ ।
तर कतिपय संक्रमित संख्या धेरै भएका ठाउँमा कन्ट्याक्ट ट्रेसिङ चुनौतीपूर्ण बनेको छ।
मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहलाई दुई तीन वटासम्म कन्ट्याक्ट ट्रेसिङ गर्ने टोली बनाउन समेत सुझाएको छ।
हाल देशभर करिब १ लाख ५० हजार सरकारी शिक्षक छन् । उनीहरुमध्ये अधिकांस ११ चैतदेखि फुर्सदिला छन् ।
फुर्सदिला सरकारी शिक्षक कन्ट्याक्ट ट्रेसिङमा खटाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।







