२७ भदौ, काठमाडौं ।
विश्व हिन्दु महासंघले विगत पाँच महिनादेखि मुख्य मठ मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकोमा आपत्ति जनाएको छ । भौतिक दुरी कायम गरी सांस्कृतिक स्थल खुला गर्न समेत महासंघले माग गरेको छ ।
महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार एक विज्ञप्ती जारी गरी अन्य क्षेत्र भौतिक दुरी कायम गरी खुलाउने तर मठ मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने नीतिप्रति आपत्ति जनाएका हुन् ।
बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवम् पुजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दुरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाए पनि सरकारले खोल्ने अनुमति दिइसकेको छैन ।
(रासस)







