चितवन अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

२७ भदौ, चितवन ।
भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगर नगरपालिका २ का ४६ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।


अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना भेटिएको अस्पतालले जनाएको छ । अन्य दुई मृतकको भने नतिजा नेगेटिभ आएको छ ।


अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ । ती युवतीलाई उपचारका लागि अस्पताल ल्याउँदा नै उनको मृत्यु भएको थियो ।


यसैगरी बिहीबार दिउँसो सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले जानकारी दिए । उनको पनि नतिजा नेगेटिभ आएको छ ।


उनीहरू तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो र उनीहरूको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ देखिएको थियो ।


(रासस)