२७ भदौ, काठमाडौं ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ । संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो ।
उक्त उपसमितिले कोभिड उपचार केन्द्रको अवस्था, आइसोलेसन सेन्टर, बिरामीको स्वास्थ्य अवस्था, खानपान, सरसफाईको बारेमा जानकारी लिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिएका छन् । त्यहाँको मनमोहनमा १४० र सशस्त्रमा २०० संक्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।
जसमध्ये आठजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अनुगमनका क्रममा उपसमितिका संयोजक श्रेष्ठले कोरोना संक्रमितको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्ने बताए । उक्त नगरपालिकामा शुक्रबारसम्म २२७ जना संक्रमित भेटिएकोमा ८८ जना डिस्चार्ज भएर घर गईसकेका छन् भने ५२ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
यसैगरी ८५ जनाको होम आइसोलेसनमा उपचार भइरहेको नगरपालिकाका स्वास्थ्यले जनाएका छ । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण दुईजनाको ज्यान गएको छ ।






