भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु प्रकरण : प्रहरीले भेट्यो ‘क्ल्यू’

२७ भदौ, काठमाडौं । शुक्रबार बेलुकी प्रहरीले भक्तपुरको निकोसेरामा एकै परिवारका तीन जनालाई उनीहरुकै घरमा मृत भेटिएपछि अनुसन्धान जारी राखेको छ ।

विभत्स रुपमा भेटिएको शवहरुबारे प्रहरीले एउटा ‘क्ल्यू’ भेटाएको छ ।

एकै परिवारका तीन सदस्यसहित त्यहि घरमा पालेको कुकुर समेत मृत भेटिएको उक्त घटना छानबिनको लागि प्रहरीले एक ‘क्ल्यू’ भेटाएको हो ।

उक्त घटना हत्या हो वा मृत्यु भन्ने आशंकाकाबीच मृतक सुदीप अधिकारीको शव नजिकै विष मिसिएको पिठो भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रवार साँझ मृतकका भाई दाजुको घरमा पुग्दा त्यहाँ तीन जनाको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । खबर पाउनासाथ त्यहाँ पुगेको प्रहरीले विभिन्न कोणबाट अध्ययन अनुसन्धान गरिरहेको छ ।

मृतक सुदिप अधिकारीसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको मृत्यु फरक फरक समयमा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आमा र छोराको शव गन्हाउन थालिसकेका र उनीहरुको शरिरमा धारिलो हतियार प्रहार गरिएको चोट समेत देखिएको छ । बुबा सुदिपको शवमा कुनै किसिमको खतहरु देखिदैन र उनको नजिक विष मिसिएको पिठो र केही किराहरु समेत मरेको देखिएको छ । विषको बट्टा खेतमा भेटिएको कारण उनले विष सेवन गरेर बट्टा घरको झ्यालबाट खेतमा फालेको हुनसक्ने आशंका गरिएकोे छ ।

शव गन्हाउन थालेको तथा सड्न लागेकाले घटना केही दिन पहिले नै भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।