२७ भदौ, दैलेख । दैलेखमा प्रहरीले विभत्स रुपमा गोरु हत्या प्रयास गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
भैरवी गाउँपालिका–२ रावतकोटका २२ वर्षीय राजु विष्ट र भीमबहादुर विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भैरवी गाउँपालिका–२, रावतकोटका कमल थापाले पालेका एक हल गोरुलाई विभिन्न ठाउँमा विभत्सरुपमा काटेर हत्या प्रयास गरेको आरोपमा उनीहरु पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान घाँस हाल्न जाँदा दुईटै गोरुलाई रक्ताम्मे अवस्थामा देखेपछि थापाले प्रहरीमा खबर गरेका थिए ।
एउटा गोरुको मुखमा धारिलो हतियारले छेदविछेद् पारेर काटिएको थापाले बर्ताए। अर्को गोरूको एउटा खुट्टा र पुच्छर छिनाइएको छ भने मुख र जुरोमा समेत धारिलो हतियारले काटिएको उनको भनाई छ ।
मुलुकी अपराध संहिताको दफा २८९ उपदफा ३ मा कसैले गाई वा गोरूलाई कुटी अंगभंग पारेमा त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
तर नेपालमा अहिले पशु कल्याण सम्बन्धी कुनै पनि ऐन नभएको पशु विशेषज्ञहरु बताउछन् ।
सर्वोच्च अदालतले यस सम्बन्धी ऐन तर्जुमा गर्न आदेश समेत दिएको छ ।







