आजबाट अदालती कामकारवाही केही खुला

भदौ २८, काठमाडौं ।
सर्वोच्च अदालत तथा उपत्यकामा रहेका मातहतका अदालतमा आजबाट केही सेवा प्रदान गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा केही खुकुलो भएसँगै अदालतले पनि सेवा सुरु गरेका हुन् ।

सर्वोच्चले सूचना निकालेर बिहीबारदेखि निषेधाज्ञा खुकुलो भएको र उपत्यका भित्रका सार्वजनिक यातायात चल्ने निर्णय भएसँगै अदालतमा उपस्थित हुन म्याद दिएको छ । सूचनामा ३० दिनभित्र म्याद, हदम्याद र तारेख लिन उपस्थित हुन भनिएको छ ।

‘निषेध आदेश खुकुलो भइ जोर बिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएकोेले यस अदालतमा हदम्याद, म्याद र तारिखमा उपस्थित हुनुपर्ने अवस्थाका काठमाडौं उपत्यकाभित्रका सेवाग्राहीहरू बाटोको म्याद बाहेक ३० दिनभित्र उपस्थित हुने,’ सूचनामा भनिएको छ ।

आइतबारबाट अदालतले दिँदै आएको सेवाको दायरा बढाइएको बताइएको छ । लकडाउन सुरु भए यता सरकारको निर्णयसँगै सर्वोच्चले पनि आफ्ना सेवा कटौती गर्दै आएको थियो ।