भदौ २८, सिन्धुपाल्चोक ।
जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडितलाई २७ लाख रूपैयाँ सहयोग प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच उक्त रकम सहयोग गरिएको हो ।
प्रवासमा रहेका तामाङ संघसंस्थाबाट प्राप्त २२ लाख १२ हजार ४९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको चार लाख ८९ हजार २२५ गरी एकमुष्ट २७ लाख एक हजार ७२० रूपैयाँ पीडित परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको हो ।
पीडितहरूको अस्थायी आवास क्षेत्र जुगलकै बाँसखर्कमा पुगेर नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभा सदस्य दावा तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेलगायतको प्रतिनिधि टोलीले उक्त राहत रकम हस्तान्तरण गरेको थियो ।
नेपाल तामाङ घेदुङका अनुसार पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई ६० हजारका दरले सात लाख २० हजार रूपैयाँ उपलब्ध गराइएको छ । यसैगरी घर पूर्णक्षति भएका १७ घरधुरीलाई २५ हजारका दरले चार लाख २५ हजार र विस्थापित १४१ घरधुरीलाई प्रतिघर १० हजारका दरले १४ लाख १० हजार रूपैयाँ राहतस्वरूप हस्तान्तरण गरिएको हो ।
प्रवासका संस्थाहरू तामाङ समाज बेल्जियमले चार लाख, तामाङ समाज जापानले तीन लाख ७० हजार, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसानले तीन लाख ३२ हजार रूपैयाँ सहयोग गरेको हो ।
यसैगरी तामाङ घेदुङ हङकङले तीन लाख आठ हजार, तामाङ घेदुङ युकेले दुई लाख एक हजार, नेपाल तामाङ घेदुङ बहराइनले एक लाख ५२ हजार सहयोग गरेका छन् । त्यस्तै नेपाल तामाङ घेदुङ कतार, नेपाल तामाङ घेदुङ साइप्रस जस्ता विदेशस्थित आप्रवासी संगठनले सहयोग गरेका छन् ।
साउन ३१ मा गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई अझै बेपत्ता छन् ।
(रासस)







