२०८ जना नेता/कार्यक्रता रिहा गर्न सरकारलाई जसपाको पत्र

चैत, २८ काठमाडौँ । बिभिन्न २४ वटा मुद्धामा जोडिएका २०८ जना पार्टीका नेता/कार्यक्रतालाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

नेताहरुका अनुसार जसपासंगको वार्तापछि सरकारले कस्ता कस्ता मुद्धा राजनीतिक मुद्धा हुन सक्छन भन्ने विषयकेन्द्रीत निर्देशिका बनाएको छ ।

सोही निर्देशिकाको आधारमा २०८ जना नेता÷कार्यक्रता रिहा गर्ने प्रक्रिया अघि बढाउन माग गर्दै गृहमन्त्रालयमा पत्र पठाइएको जसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।

‘हामीले पठाएकोमा राजनीतिक मुद्धा नै छ । जसलाई गृहमन्त्रालयले हेर्छ र यस्तो यस्तो रहेछ भनी रुजु गर्छ’ नेता झाले भने, ‘पत्र गृहमन्त्रालयबाट कानुन मन्त्रालय हुँदै कानुनी रायसहित मन्त्रिपरिषदमा पुगेर निर्णय हुन्छ, प्रक्रिया यो हो ।’

नेता झाका अनुसार ती २४ मुद्धामा मुछिएका २०८ जना बिभिन्न १३ जिल्लाका नेता/कार्यक्रता हुन् । २०८ जनामा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका रेशम चौधरीदेखि प्रदेशको समाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

छानविन समिति गठन

जसपाले पठाएको विवरण अध्ययन गर्न गृहमन्त्रालयले एक जना सहसचिवको नेतृत्वमा छानविन समिति बनाएको छ । तर, छानविन समितिमा को को छन भन्ने जानकारी दिन गृहमन्त्रालयले इन्कार गरेको छ ।

‘छानविन समिति बनेको छ । समितिले कार्यविधि बमोजिम प्रक्रिया पुगे/नपुगेको, कागजपत्र पुगे÷नपुगेको हेर्छ र रिर्पोट पेस गर्छ’ गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले भने ।

गत फागुन २७ र २८ गते सरकार र जसपाबीच वार्ता भएको थियो ।

आफ्ना माग सम्बोधनका लागि जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सरकारको कार्यदलमा छन् ।