किरण पौड्याल
२८ भदौ, इलाम । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुबेदी(माधव)को दुई दशक भलिबल खेलमा वित्यो । कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै पद र मर्यादामा रहेरपनि माधव भलिबलमा समर्पित रहे ।
चाहे गाउँको धुलोमा होस् वा सदरमुकामको अब्बल मैदान । भलिबलको सुइको पाउने वित्तिकै माधव हानिनु हुन्थ्यो । विद्यालयमा पढ्दा नै माधवको मनमा भलिबलको ‘खिल’ बिझेको थियो । भलिबल खेल्न र खेलाउनका लागि पाखोरेखो देखि जिल्ला÷जिल्लामा माधव पुग्नुपथ्र्यो र पुग्थे । उनको भलिबल खेलको ‘श्री गणेश’ चाहिँ गाउँकै विद्यालय(सरस्वती मावि सुलुबुङ)मा कक्षा ६ मै पढ्दा भयो ।
विद्यालयमा माहोल नै भलिबलको भएपछि उनको मन तानिनु अनौठो भएन । कक्षा ६ मा शुरु गरेको भलिबल १० कक्षामा पुग्दा त माधव ‘अब्बल’ खेलाडी बने । गाउँका विद्यालय÷विद्यालयमा हुने ‘भाले’(कुखुराको भालेमा बाजी पर्ने खेल)प्रतियोगिताले माधवको मनमा अड्डा जमाउन थाल्यो ।
कक्षा १० सकेर माधवले विद्यालय त छाडे तर मनले भलिबल सिकेको विद्यालय छाडेन । उच्चस्तरीय अध्ययनका लागि सदरमुकाम पसेको दुई बर्ष माधवको मन उजाडियो । ग्रामीण भेगबाट आएकाले सदरमुकाममा भलिवलमा स्थान पाउन कठिन थियो । तर, मनको इच्छा कसले रोक्न सक्थ्यो र ! विदाको समय गाउँ पुगेरपनि माधव भलिबलमा सामेल भएरै छाड्थे । “मैले विद्यालय तहमैपनि धेरैतिर भलिबल खेल्न पुग्थे”माधव भन्नुहुन्छ,“शनिबार÷शुक्रबार आउँदै हुँदैन थियो । टिम बनाएर भाले खेल्न पुगिहालिन्थ्यो”
भलिबल मोहले पढाइ ‘बिर्सिएको’ त्यो पल
जबजब माधवको कक्षा बढ्दै गयो । तबतब, भलिबलको मोहपनि उचिलिदै गयो । स्नातक अध्ययनका लागि सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस माधव भर्ना त भए तर पढाइमा ध्यानै गएन । क्याम्पसको पढाइले भन्दा प्राङ्गणको भलिबलले तानेपछि पढाइ कसरी उभो लाग्थ्यो र !
जेनेतन माधवले स्नातक पार त लगाउनु भयो तर राम्रो नम्बर भने आएन । “खाली भलिबल भनेर कुदिन्थ्यो । कहिलै कक्षा बसे पो पढ्नु”,माधवले हाँस्दै भने,“मनमा पढ्न ध्यान भए पो राम्रो माक्स आउँथ्यो”भलिबलले माधवको स्नातकोत्तर गर्ने योजनै चौपट भयो । तर, माधवले क्याम्पस अध्ययनकै समयमा अन्तरक्याम्पसदेखि अन्तरजिल्लासम्मका प्रतियोगिताको कप्तानी समाले । यतिमात्र होइन, माधव गाउँ÷गाउँमा भलिबलको प्रचार गर्दै हिडे । खेल भन्ने वित्तिकै फुटबल बुझ्ने अधिकांश गाउँका विद्यालयमा माधवकै अगुवाइमा भलिबल सङ्घ बने । भलिबलमा लत बसेपछि माधवले रेफ्री कोर्ष गरे । त्यसपछि त माधव भलिबल खेल्न मात्र होइन, खेलाउनेसम्म भए ।
क्षेत्रीय भलिबल रेफ्री भएपछि माधवले राष्ट्रिय रेफ्रीको अध्ययन गर्ने योजना बनाए । तर, त्यो योजना भने विफल सावित भयो । जिल्लामा पढाइ नहुने भएकापछि घरायसी समस्याले बाहिर जान रोक्यो ।
भलिबलमा भविष्य नदेखेपछि व्यवसायी बन्दा
दुई दशक भलिबलमा गुजार्दापनि माधवले भविष्य भेटेनन् । गाउँघरमा भएका प्रतियोगितामा अलिअलि पैसा कमिएपनि जीविकोपार्जन हुने छनक देखिएन । सरकारीस्तरबाट भलिबलमा प्रवद्र्धनका कार्यक्रम नहुँदा माधवले क्षेत्रै परिवर्तन गर्नुपर्ने देखियो । तत्काल के गर्ने भन्ने योजना बनेन र बन्ने कुरापनि भएन ।
यसै विषयलाई लिएर माधव घर(सुलुबुङ)पुगे । पारिवारिक सल्लाहअनुसार माधवले घरमै बसेर चियाबारीको काम गर्नुपर्ने भयो । अब माधव घरमै रहेर चिया प्रशोधन गरे । आर्थिकसमस्या भएपछि माधवले त्यो काम समाउनुभयो । तर, उनको मन मानेन ।
चिया प्रशोधन मात्र नभई डेरी खोल्दापनि उनलाई ‘के नपुगे जस्तो’ लाग्यो । भलिबल भनेपछि मरिहत्ते गर्ने माधवलाई जुन काम गर्नुप¥यो त्यो गाह्रो भयो । तर, पनि बाध्यतावस गर्नुप¥यो । दुईबर्ष गाउँमा समय गुर्जादा माधवलाई नयाँ काम गर्नुपर्छ भन्ने ‘हुटहुटी’चल्न थाल्यो । इलामे पहिचान बोकेका वस्तु गाउँमा नविकेको देख्दा माधवलाई चित्त बुझेन । गाउँमा फल्ने अकबरे बजार नपाएर कुइएको र दूध नबिकेको देख्दा माधवको मनै खिन्न भयो ।
यतिकैमा माधव सदरमुकाममा पसल खोल्ने मोडमा पुगे । “गाउँमा फलेको चिया र गाउँकै छुर्पी र खुर्सानी बेच्न सदरमुकाम सरे” सदरमुकाम सरेर माधवले चिया र छुर्पी मात्र बुच्नुभएन । सदरमुकाम छेउछाउकै किसानबाट दूध किनेर नगरबासीलाई दूध र दही बेच्न थाले ।
सदरमुकाममा एकातिर दूध नविकेर हैरान किसान र अर्कातिर दूध किन्नबाट बञ्चित ग्राहकका लागि ‘पुल’बने माधव । अहिले माधवले ५०÷६० किसानबाट दूध किनेर बजार क्षेत्रका ५० बढी परिवारलाई दूध र दही बेच्छन् । कमाउनकै लागि त सजिलो काम गर्दा हुन्थ्यो तर ‘नयाँ’ कामका लागि माधवले यो काममा हात हाले ।
भलिबलमा राजनीति ‘लाद्दा’ दुखेको मन
जबजब माधव सदरमुकाममा पसल खोल्ने तरखर गर्दै थिए । तबतब जिल्लामा भलिबलको सरगमी बढिरहेको थियो । व्यवसायमा बढी र भलिबलमा कम समय दिँदै जाँदापनि माधवको भलिबलको छवि भने धुमिल भएको थिएन । तर, अधिवेशनको पूर्वसन्ध्यामा भलिबलमाथि राजनीति घुस्न थाल्योे । “मभन्दा जुनियर व्यक्ति पदमा आकाङ्क्षी भएपछि पदीय जिम्मेवारीमा बस्ने मनै भएन” माधवले भने,“त्यसपछि पदीयमोह नै त्यागिदिए ।”यो घटनापछि माधवलाई विरक्त लाग्न थाल्यो ।
भलिबल नै त्यागेर व्यवसायमै लाग्न पनि माधवले खोजे । तर, मन किन मान्थ्यो र ! अधिवेशन नभई तदर्थ समिति बनेपछि भने माधवले केही राहतको महसुस गरे । त्यसपछि दुई कार्यकाल तदर्थ समितिको सचिवमा रहेर माधवले पदीय जिम्मेवारी जिभाए । तर, यति धेरै उत्सुक र अब्बल माधव अहिले भने भलिवलको कुनै पदमा अटाएका छैनन् । “निष्पक्ष रूपमा अधिवेशन भयो भने जुनै पदमा पनि बस्छु” माधव भन्नुहुन्छ,“राजनीतिकरण चाहिँ मान्दिन”
‘इलाम’ चिनाउने माधवको त्यो चाहना
शुरुवातमै इलामे पहिचान (चिया, अकबरे, छुर्पी) बेचेका उनलाई देशका शहर÷शहरमा यस्ता वस्तु बेच्न मन छ । अहिले पसलबाट काठमाडौं, चितवन र पोखरीमा माधवले यी सामग्री पठाउनुहुन्छ । उनको व्यवसाय(इलाम सदरमुकामस्थित माइपोखरी अर्गानिक एग्रिकल्चर सप्लार्यस)बाटै इलाम चिनाउने योजना पूरा भएको छैन । उनलाई इलाममा उत्पादन भएको घ्यु खारेर देशका कुना कुनामा लगेर चखाउन मन छ ।
“हाम्रा अर्गानिक प्रोडक्ट कसैले चिन्दैन । देशमै पनि इलामको चिया भनेर दाना(सिटिसी) चिया बेच्छन्” माधव भन्नुहुन्छ,“म देशका उत्कृष्ठ शहरहरुमा यस्ता वस्तुको प्रवद्र्धन गर्न खोज्दै छु । सायद, सक्छु होला”
‘राष्ट्रिय खेल हेपिएको मेरो देश’
माधवलाई ‘राष्ट्रिय खेल भलिबल हो’भन्दा चित्तै बुझ्दैन । बजेट, कार्यक्रम नभई घोषणा गरिएको राष्ट्रिय खेलले नहुने बुझाइ छ माधवको । भलिबलप्रति चासो नगएको देख्दा आफूलाई विरक्त लागेको माधव बताउछन् । माधवले भने,“यो कुरा नबुझेसम्म भलिबलको विकास कहिलै हुँदैन ।”
भलिबलमा भविष्य नभेटेका माधव : जब इलाम चिनाउन व्यवसायी बने







