काठमाडौंका ८० विद्यालय पुन:निर्माण

भदौ २९, काठमाडौं ।
भूकम्पमा परी क्षति भएका जिल्लाका विद्यालय पुन:निर्माणले गति लिँदै गएका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पले व्यक्तिगत घरका साथै सरकारी तथा सामुदायिक विद्यालयमा पनि क्षति पुर्याएको थियो । जसमध्ये ८० विद्यालयको पुन:निर्माण सम्पन्न भएको छ ।

पाँच वर्ष अघिको उक्त भूकम्पले राजधानी काठमाडौंका विद्यालयमा समेत ठूलो क्षति भएको थियो । यहाँका २ सय ८१ विद्यालयमध्ये १ सय ९२ मा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले बताए ।

यहाँका विद्यालाय पुन:निर्माणको जिम्मेवारी राष्ट्रिय पुन:निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) ले लिएको छ । क्षतिग्रस्तमध्ये १२८ को पुन:निर्माण, ३४ वटाको रेट्रोफिट र ३० वटाको दुवै गर्नुपर्ने अवस्था रहेको इकाइले जनाएको छ ।

इकाइका इञ्जिनियर सागर पौडेलका अनुसार १ सय ९२ मध्ये ८० वटाको पुन:निर्माण र हस्तान्तरण भइसकेको छ । यीमध्ये ५५ वटा विद्यालयका ५ सय २१ कक्षाकोठा विद्यालय व्यवस्थापन समितिको सक्रियतामा र १३ विद्यालयका २ सय ७१ कक्षाकोठा एसियाली विकास बैंकको सहयोगमा निर्माण भएका हुन् । यसैगरी १२ वटा विद्यालयका १ सय ३६ कक्षाकोठा भने सरकारी तथा गैर सरकारी संघसंस्थाको सहयोगमा तयार भएको हो ।

झोरको बौडेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम प्रसाद अधिकारी भन्छन्, ‘भूकम्पले विद्यालयका सबै भवन भत्काएपछि विद्यार्थीलाई छाप्रोमा राखेर पढाउनुपर्ने अवस्था थियो ।’ उक्त विद्यालय व्यवस्थापन समितिको सक्रियतामा पुन:निर्माण गरिएको हो ।

यसका लागि पुन:निर्माण प्राधिकरणको शिक्षा शाखाले ६५ लाख, बागमती प्रदेश सरकारले २० लाख र टोखा नगरपालिकाले १४ लाख रूपैयाँ सहयोग गरेको थियो । एक करोड १५ लाख हाराहारीमा निर्माण सम्पन्न भएको उक्त विद्यालयमा अपुग रकम वडा नं. १ ले सहयोग गरेको उनले बताए ।

तथ्यांक अनुसार जिल्लाका ६० विद्यालय पुननिर्माणका चरणमा छन् । जसमा ४० वटाको विद्यालय व्यवस्थापन समिति, १० वटाको एसियाली विकास बैंकको ऋण, तीन वटाको सरकारी तथा गैरसरकारी संस्था र चार विद्यालयको भारतीय राजदूतावासले निर्माण गरिरहेको छ । यसैगरी एउटाको चीन सरकार र दुई विद्यालय युएसआइडिमार्फत पुननिर्माण हुँदैछन् ।

जिल्लाका ११ वटै स्थानीय तह अन्तर्गतका ४३ विद्यालयमा रेट्रोफिटिङको काम चलिहरेको छ । यहाँका विभिन्न १३ विद्यालय पुन:निर्माण गर्न चाहे पनि पर्याप्त जग्गा नहुँदा समस्या भएको बताइएको छ ।

उक्त भूकम्पमा देशभरका नौ हजार ३ सय ५३ विद्यालयका कक्षाकोठामा क्षति पुुगेको थियो । जसमा २२ हजार ४ सय १ मा पूर्ण क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ । ३२ हजार ९ सय ६६ कक्षाकोठामा भने आंशिक क्षति पुगको देखिएको छ । भूकम्पका कारण शिक्षा क्षेत्रमा मा रू. ३२ अर्ब बराबरको क्षति पुगेको थियो । (रासस)