ओम्नी समुह एक वर्ष कालोसूचीमा

भदौ २९, काठमाडौं ।
सार्वजनिक खरिद अनुुगमन कार्यालयले ओम्बी बिजनेस कर्पोरेट इन्टरनेसनललाई कालोसूचीमा राखेको छ । एक सूचना प्रकाशित गर्दै कार्यालयले एक वर्षसम्म कुनै खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको जनाएको छ ।

ओम्नी समुह पछिल्लो पटक विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको थियो । समयमा र सम्झौतामा उल्लिखित परिमाणमा स्वास्थ्य सामग्री ल्याउन नसकेको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नीसँगको सम्झौता चैतमा रद्द गरेको थियो ।

उक्त समुहले बजार भाउभन्दा निकै चर्को मूल्यमा सामग्री ल्याएको भन्दै सार्वजनिकस्तरबाट आलोचना भएको थियो । यद्यपि टेन्डर छलेर सरकार निकटबाटै ओम्नीसँग सम्झौता गरी स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी दिइएको थियो ।

यसै कारण पनि सरकारले उक्त कम्पनीमाथि कारवाही गर्न कुनै चासो देखाएको थिएन । तर संसदीय समितिहरूमा भने यो विषयले चर्चा पाएको थियो ।

खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा स्वास्थ्य सेवा विभागको सिफारिशमा कालोसूचीमा राखिएको उल्लेख छ । अब एक वर्षसम्म हुने कुनै पनि टेन्डर आह्वानमा ओम्नीले सहभागिता जनाउन पाउने छैन ।