जेठ, २८ काठमाडौं । प्रधानमन्त्री केपी ओली निकट मुख्यमन्त्री रहेका प्रदेश सरकार फेरबदलको प्रयत्न भइरहेका बेला जसपाका अध्यक्ष उपेन्द्र यादवले अब ओली निकट रहेका प्रदेश सरकारहरु ढल्दै जाने बताएका छन् ।
प्रदेश २ मा तपाईंहरु (जसपाको उपेन्द्र यादव पक्ष) को सरकार जोगियो अब अन्यत्र के हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले छोटो प्रतिक्रिया दिएका गरेका छन्, ‘अब अन्यत्र केपी ओलीको सरकार ढल्दै जान्छ ।’
शुक्रबार संसद भवन नयाँ वानेश्वरमा सभामुखले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
प्रदेश नम्बर दुईमा जसपाको उपेन्द्र यादव पक्षका नेता लालबाबु राउत मुख्यमन्त्री छन् । उनले जसपा महन्थ ठाकुर पक्षका मन्त्रीहरुलाई निकालेर कांग्रेसबाट मन्त्री बनाएका छन् । माओवादी केन्द्रले पनि प्रदेश २ सरकारलाई समर्थन गरेको छ ।
यता, जसपाको महन्थ ठाकुर पक्ष संघीय सरकारमा गएको छ । जसपाले वर्तमान सरकारमा ११ जना मन्त्री पाएको छ ।
प्रदेश र संघमा समेत दुई भागमा विभाजित जसपा अब कसरी अगाडि बढ्छ ? न्ने प्रश्नमा अध्यक्ष यादवले केही व्यक्ति सरकारमा जाँदैमा जसपा फुटेको रुपमा नलिन आग्रह गरे ।
‘केही मान्छेले पार्टीको विधान उलंघन गरेको छ । तर, जसपा अहिले पनि एउटै छ’ उनले भने, ‘पार्टीबाट निस्कासन गर्न कमिटी चाहिन्छ । केन्द्रीय कमिटीमा बहुमत चाहिन्छ ।’
जसपाको विवाद निर्वाचन आयोगमा निरुपणको प्रक्रियामा छ । दुबै पक्षले एक अर्कालाई कारबाही गरेको भनी निर्वाचन आयोगमा विवरण अध्यावधिकका लागि पत्र पठाएका छन् ।
जसमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिको बुहमत सदस्यको हस्ताक्षर बुझाएका छन् भने ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समितिको सदस्यको हस्ताक्षर बुझाउन सकेको छैन् ।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले भने संघीय सरकारमा गएका नेताहरुको राजनीतिक जीवन कलकिंत भएको टिप्पणी गरेका छन् ।
‘केही मान्छेहरु पदायन भएर सरकारमा गएका हुन् । यो दुर्भाग्यपुर्ण छ’ उनले भने, उहाँहरुले त्यो विस्तारै बुझ्नहुन्छ गलत बाटो हो भनेर । त्यो गलत बाटो ले मधेश आन्दोलनलाई धोका दिन्छ । उहाँहरुको राजनीतिक जीवनलाई कलंकित गर्छ ।







