काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशनको तयारी अघि बढाउने जानकारी दिएका हुन्।
विज्ञप्तिमा पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै विधान र संविधानअनुसार वर्तमान कार्यसमितिको पदावधि समाप्त हुने चरणमा पुगेको जनाइएको छ।
आगामी वैशाखमा स्थानीय तहको निर्वाचन तथा त्यसलगत्तै हुने प्रदेश सभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीलाई थप सुदृढ र व्यवस्थित बनाउन १५औँ महाधिवेशन आवश्यक रहेको कोइरालाको भनाइ छ।
उनले ‘कथित विशेष महाधिवेशन’बाट स्वघोषित कार्यसमितिले गर्ने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने महाधिवेशनको तयारीमा जुट्न उनले सबै तहका नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
कोइरालाले १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी प्रक्रिया अघि बढाउने बताएका छन्। त्यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति र निर्वाचन समिति गठनलगायतका काम पूर्वनिर्धारित कार्यतालिकाअनुसार अघि बढाइने उनले जानकारी दिएका छन्।
अदालतबाट आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गर्दै कोइरालाले आवेग, उत्तेजना र षड्यन्त्रको राजनीति नगरी संयमता र धैर्यताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। अदालतले महाधिवेशन रोक्न आदेश नदिएको अवस्थामा चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले नै १५औँ महाधिवेशन गराउने उनको दाबी छ।
यसैबीच, कोइरालाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बेपत्ताको खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै मानवीय सेवामा जुट्न कांग्रेसका सबै तहका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।








