सिन्धुपाल्चोकमा दुई महिनाभित्र पहिरोले ७४ को मृत्यु

भदौ ३०, सिन्धुपाल्चोक ।
पहिरोका कारण पछिल्लो दुई महिना यता जिल्लामा ७४ जनाले ज्यान गुमाएका छन् । यसैगरी ४१ जना अझै बेपत्ता छन् । पछिल्लो समय निरन्तरको पहिरोले यति ज्यान लिएको हो । बाढीपहिरोले सयौँ परिवार विस्थापित हुन बाध्य भएका छन् ।

असार २२ मा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म पनि बेपत्ता छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ ।

बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ हालसम्म पनि हराइरहेका छन् । सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा एक जनालाई बाढीले बगायो ।
साउन १ मा पनि भोटेकोशी गाउँपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुरेको थियो । लामो प्रयासपछि मात्र उनीहरूको शव फेला परेको थियो ।

गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाउनपर्यो । यस्तै मेलम्ची खानेपानीको गेट फुटलाखोलाको बेगले दुई जनालाई बगाएको थियो । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको तत्काल उद्धार गरिएको थियो ।

सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए । साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका छन् ।

आइतबार बाह्रबिसे नगरपालिकामा गएको पहिरोमा हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । यसैगरी १७ जना हराइरहेको तथ्यांक छ ।

पहिरोमा परी जिल्लाभर १३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका छन् ।

हजारौं घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा
पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले जानकारी दिए । यस्तै भोटेकोशीमा ८७५, जुगल गाउँपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६ र हेलम्बुमा ६७ घर जोखिममा भएकाले स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।

चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख ढकालको भनाइ छ ।

जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट १० लाख र पहिरोले आवासविहीन बनाएका परिवारलाई ११ लाख ८५ हजार रूपैयाँ प्रदान गरिएको छ । पहिरोपीडितलाई १० लाख नौ हजार रूपैयाँ राहत वितरण गरिसकिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । (रासस)