‘चितवनका आधा संक्रमितलाई अस्पतालबाटै सर्यो कोरोना’

भदौ ३०, चितवन ।
जिल्लामा कोरोना संक्रमण अस्पतालहरूबाटै फैलिएको एक अध्ययनले देखाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको भेटिएको छ ।

केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २ सय ५४ चिकित्सक तथा स्वास्थ्यकर्मी छन् । यो संख्या आजसम्म संक्रमित संख्याको २० प्रतिशत हुन आउँछ ।

संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्तिमा संक्रमण सरेको भेटिएको छ । यसलाई हेर्दा संक्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेकका अन्य १ सय १ संक्रमितले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा संक्रमण भएको बताएका छन् ।

तिवारी भन्छन्, ‘जिल्लामा जम्मा संक्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।’ अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १ सय ११ मा संक्रमण देखिएको छ । कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको संक्रमण पनि बढ्दो छ । घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरूमा संक्रमण फैलिएको पाइएको तिवारीले जानकारी दिए ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘पसलको सामान ढुवानी गर्ने, सामान बेच्ने, तरकारी बजार जाने, सवारी चालक, कोभिड परीक्षण नगरी बाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्रभागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, वित्तीय संस्था, विद्युत् प्राधिकरणका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।’

अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि थप संक्रमण फैलन नदिन आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले जानकारी दिए । साथै अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिनमा बस्ने र अन्य व्यक्तिको सम्पर्कमा जान नहुने जस्ता सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।

परिवारका सदस्यहरूलाई सामान्य अवस्थामा जस्तो साथीभाइसँग हिँडडुल, घुमफिर नगर्न समेत आग्रह गरिएको छ । भाडामा बस्ने व्यक्तिहरूले आफ्नो घरमा बस्ने र घरधनी व्यक्तिहरू समेतले संंक्रमणको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे÷नगरेको ध्यान दिन सुझाइएको छ ।

रोग नियन्त्रणका लागि पसलमा बसेर सामान बेच्दा सामान किन्न आउने ग्राहकसँग सावधानी अपनाउन, मास्क लगाउन, पैसा लिँदा अलग्गै टोकरीमा राख्नजस्ता व्यवस्था मिलाउन केन्द्रले सुझाव दिएको छ । तरकारी बजारमा हुने भीडभाड नियन्त्रण गर्नुपर्ने, उद्योगमा बाहिरबाट कामदार ल्याउँदा स्वास्थ्य परीक्षण गराएर मात्र ल्याउनुपर्ने, कच्चा पदार्थ ल्याउँदा र तयारी सामग्री बाहिर पठाउँदा हुने लोड–अनलोडबाट संक्रमण नभित्रिने गरी प्रबन्ध मिलाउनुपर्ने, विद्युत् मर्मत सेवा, सरकारी कार्यालय र बैंकहरुमा अग्रभागमा बसेर ग्राहकलाई सेवा दिने व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने जस्ता कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
(रासस)