बलात्कार मुद्दामा फरार दुई जना प्रहरी नियन्त्रणमा

भदौ ३०, कञ्चनपुर ।
प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका दुई जनालाई ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षिय चन्नु राना र २६ वर्षिय अनिल राना छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभूवन बस्तीबाट खटेको संयुक्त टोलीले पुनर्वास नगरपालिका ११ बाट सोमबार उनीहरूलाई पक्राउ गरेको हो । स्थानीय युवतीलाई सामुहिक बलात्कार गरी उनीहरू २०७१ फागुनबाट फरार थिए ।

कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई २०७२ असार २८ मा ११\११ वर्ष कैद हुने फैसला सुनाएको थियो । घरमै लुकिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । आवश्यक कारवाहीका लागि उनीहरूलाई अदालतमा पेश गर्ने तयारी भइरहेको उनको भनाइ छ । (रासस)