विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

असार, १४ टिकापुर । जानकी–१ ले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विपन्न तथा जेहेन्दार बालबालिकालाई शिक्षण सिकाइ क्रियाकलापमा सहयोग गर्ने उद्देश्यले वडा कार्यालयले १२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शिक्षण सिकाइमा सहयोग होस् भनी सामग्री वितरण गरिएको वडाध्यक्ष धनीराम चौधरीले बताए । “वडाभित्र रहेका अति विपन्न, अपाङ्गता भएका बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर सामग्री सहयोग गरेका छौँ । पठनपाठनमा सहयोग पु¥याउनका लागि वडाबाट शैक्षिक सामग्री वितरण गरेका हौँ”, वडाध्यक्ष चौधरीले भने, “कतिपय विद्यार्थी कापी किताब, पोशाक, झोला किन्न नसकेर विद्यालय जान सकेका छैनन्, त्यस्तालाई सघाउने कार्यक्रम हो ।”

उनले सरकारले १० कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि आर्थिक सङ्कटमा रहेका केही सामुदायिक विद्यालयले अभिभावकबाट विभिन्न बहानामा शुल्क असुलिरहेकाले समस्या भएको बताए । “हामीले सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई पालिका शिक्षक बनाउन पनि पहल गरिरहेका छौँ । निजी स्रोतबाट शिक्षक पालेका विद्यालयलाई राहत हुनेछ”, उनले भने, “अब पालिकाले विपन्न विद्यार्थीको अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री र पोशाकमा समेत सघाउन आवश्यक छ ।”