कोरोनाका कारण कामदार अभावले सिमेन्ट उद्योग ठप्प

भदौ ३०, धादिङ ।
कोरोना भाइरसको संक्रमणका कारण कामदार अभाव हुँदा जिल्लास्थित हुवासिन सिमेन्ट उद्योग निर्माण बन्द भएको छ । राष्ट्रिय प्राथमिकताप्राप्त चिनियाँ लगानीको यो उद्योग पछिल्लो दुई महिनादेखि पूर्णरूपमा ठप्प छ ।

कामदार आ–आफ्ना घर फर्किएपछि बेनिघाट रोराङमा बहुराष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले बनाउन लागेको उक्त उद्योगमा कार्यरत चिनियाँ मजदूर केही चिनमा नै छन् भने नेपाली कामदार समेत संक्रमणले महामारीको रूप लिएपछि आ–आफ्ना घर फर्केका छन् । यसले तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा दुविधा उत्पन्न भएको छ ।

बढ्दो कोरोना संक्रमणको सन्त्रासका कारण प्राविधिकसहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल एक हजार कामदार कार्यरत थिए ।

उद्योग निर्माण रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् । दुई महिना अघिसम्म निक्कै चहलपहल हुने उक्त क्षेत्र अहिले सुनसान बन्न पुगेको छ । व्यवसायका लागि उद्योग वरिपरि स्थानीयले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत लगानी डुब्ने त्रासमा रहेको बताउँछन् ।

विदेशी कामदार ल्याउन सरकार अझै तयार छैन
कम्पनीले आफ्ना प्राविधिकसहित कामदार नेपाल आउन तयार रहे पनि कोरोनाका कारण नेपाल सरकारले विदेशी कामदार ल्याउन अनुमति दिएको छैन । कम्पनीका आयोजना विकास म्यानेजर डिल्लीराज पोख्रेलले सकेसम्म छिटो चिनियाँ प्रविधिकसहितको टोली ल्याउन पहल भइरहेको जानकारी दिए ।

उनले चिनियाँ कामदार ल्याउन आवश्यक सहजीकरण गरिदिन सरकारसँग आग्रहसमेत गरेका छन् । उनले उद्योग परिसरमा कोरोना नियन्त्रणका सबै स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिएका कारण जोखिम नरहेको बताए । (रासस)