ललितपुरमा सम्बन्ध विच्छेद र जबरजस्ती करणी बढ्यो

असार, २५ ललितपुर । ललितपुर जिल्लामा गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदको घटना बढेको पाइएको छ ।

जिल्ला अदालत ललितपुरले उपलब्ध गराएको विवरण अनुसार २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म १२०७ वटा सम्बन्ध विच्छेदका मुद्धा परेका छन् ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा सम्बन्ध विच्छेदका ३३६ थान मुद्धा दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०७७÷०७८ को असार २४ गतेसम्म ४४१ थान मुद्धा परेका छन् ।

चालु आर्थिक वर्षमा दर्ता भएका ४४१ थान मुद्धामध्ये २६९ वटाको फैसला भएको छ भने १७२ वटा मुद्धा बिचाराधीन छन् ।

गत आर्थिक वर्षमा दर्ता भएका ३३६ थान मुद्धामध्ये गत वर्ष २३१ वटाको र चालु आर्थिक वर्षमा ६७ वटा मुद्धाको फैसला भएको छ । बाँकी ३८ मुद्धा बिचाराधीन छन् ।

जबरजस्ती करणीको मुद्धा पनि बढ्यो

ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्धाको संख्या पनि बढेको छ ।

उपलब्ध तथ्याङक अनुसार २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीका १६७ वटा मुद्धा परेका छन् ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा जबरजस्ती करणीका ६६ वटा मुद्धा दर्ता भएका थिए । त्यसमध्ये ५० वटा मुद्धाको फैसला भएको छ ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को असार २४ गतेसम्म जबरजस्ती करणीका ६९ वटा मुद्धा दर्ता भएका छन् । यसमा २० वटा मुद्धाको फैसला भएको छ भने ३९ वटा मुद्धा बिचाराधीन छन् ।

चोरी डकैतीमा मुद्धा घटे

चोरी डकैतीका मुद्धाको संख्या भने ललितपुरमा घटेको छ ।

२०७५ साल भदौ १ गतेदेखि हालसम्म ललितपुर जिल्ला अदालतमा चोरी डकैतीसंग सम्बन्धित ३२७ वटा मुद्धा दर्ता भएका छन् । ३२७ मध्ये ७४ वटा मुद्धाको फैसला हुन बाँकी छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा चोरी डकैतीका १०९ वटा मुद्धा परेका थिए । त्यसमध्ये १८ वटा मुद्धा बिचाराधीन छन ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को असार २४ गतेसम्म चोरी डकैतीका ९६ वटा मुद्धा दर्ता भएका थिए । यसमध्ये ५३ वटा मुद्धा बिचाराधीन छन् ।

कोरोनाका कारण न्याय सम्पादनमा असर

नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुर जिल्ला अदालतबाट हुने न्याय सम्पादनमा पनि असर परेको छ ।

कोरोनाका कारण चालु आर्थिक वर्षमा गत पुष १ गतेदेखि मात्रै अदालतले काम सुरु गरेको स्रेस्तेदार विष्णु प्रसाद पाण्डेयले बताए । ‘तथापि हामीले आफ्नो तर्फबाट सक्ने गरेका छौं’ स्रेस्तेदार पाण्डेयले बिहीबार अदालतकै सभाहलमा भएको पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार गत जेठ मसान्तसम्म जिम्मेवारी सरेका १८५५ मुद्धामध्ये ९६६ वटा मुद्धाको फर्छाैट भएको छ भने ८८९ वटा मुद्धा फर्छोट हुन बाँकी छ । चालु आर्थिक वर्षमा दर्ता भएका २००१ मुद्धामध्ये ६४० वटा मुद्धाको फर्छोट भएको र १३६१ वटाको फर्छोट बाँकी रहेको छ ।

फैसला कार्यान्वयनतर्फ अदालतले चालु आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको स्रेस्तेदार पाण्डेयले बताएका छन् ।

उनका अनुसार अदालतले ५८ करोड ३६ लाख १३ हजार ८४१ जरिवाना मध्ये चालु आर्थिक वर्षमा १४ करोड ६९ लाख १५ हजार ४२५ असुली गरेको छ ।

‘चालु आवमा ३ करोड १६ लाख ६८ हजार ४८१ जरिवाना असुल गर्ने लक्ष्य राखिएकोमा त्यसको ४६३ प्रतिशत जरिवाना असुल भएको छ’ स्रेस्तेदार पाण्डेयले जानकारी दिए ।

ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत मुद्धाको मिलापत्र गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले थपे, ‘अदालतले चालु आर्थिक वर्षमा ५४७ थान मुद्धा मेलमिलापमा पठाएकोमा १०८ थान मुद्धामा मेलमिलाप हुन सकेको छ ।’

यस्तै, मिसिललाई सफ्टवेयरमा इन्ट्री गर्ने कार्यलाई पनि अदालतले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

अदालतको अभिलेख शाखामा ६८ हजार १४८ थान मिसिलहरु रहेकोमा ६६ हजार ६६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गरिसकिएको, मिसिल कागजातहरुमध्ये ५३ हजार २६९ थान धुल्याइ सकेको र ११ हजार ६६२ मिसिलहरु स्क्यान गरी डिजिटाइज गरिएको उनले जानकारी दिए ।

‘आगामी पाँच वर्षभित्र लसलतपुर जिल्ला अदालतलाई पूर्णरुपमा डिजिटाइज अदालतका रुपमा विस्तार गरिने महत्वपूर्ण योजना रहेको छ’ स्रेस्तेदार पाण्डेयले भने ।